२०८३ बैशाख १९ गते , शनिबार

होटेल मेची क्राउनले ल्याएको प्रतिबन्धित भारतीय पाँच लाख २१ हजार रुपैयाँसहित पाँच जना पक्राउ

sajilo news
झापा
२०७९ असार ३२ गते , शनिबार
होटेल मेची क्राउनले ल्याएको प्रतिबन्धित भारतीय पाँच लाख २१ हजार रुपैयाँसहित पाँच जना पक्राउ

झापा । सशस्त्र प्रहरीले झापाको मेचीनगर–८ सञ्चालित होटेल मेची क्राउन (एचएमसी) ले नेपाल भित्राएको प्रतिबन्धित भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले शनिवार दिउँसो ४ बजे पूर्व-पश्चिम राजमार्ग अन्तरगत जोरसिमल चेक प्वाइन्टमा चेकजाँचका क्रममा पाँच लाख २१ हजार भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिए । 

सशस्त्रले दुई हजार र पाँच सय दरका प्रतिबन्धित नोटसहित भारत असाम तिनसुकिया बस्ने आनन्द कुमार सदेका, सोही स्थानका प्रमोद जलान, मनोज अग्रवाल, अशोक अग्रवाल र खोरीवारि बस्ने सवारी चालक अभिजीत सिंह पक्राउ गरेको डिएसपी भण्डारीले बताए । पाँचतारे होटेल मेची क्राउनले रिजर्भ गरेको टोयटा कम्पनीको डब्लु बि ७४ बि एच १६४३ नम्बरको इनोभा कारमा लुकाइछिपाई सो रकम उनीहरुले  नेपाल भित्राएको हो । 

उनीहरूको साथबाट बरामद गरिएको नगद, सवारी र उनीहरूसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइएको बिओपी काँकडभिट्टाका प्रमुख इन्स्पेक्टर प्रेमकुमार राईले जानकारी दिए  ।  पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित २ हजार दरका एक सय एक र पाँच सय दरका ६ सय अठतिस थान भारतीय रुपँया बरामद गरिएको हो ।

यता नाकामा सेटीङ गरी नेपाल छिराएको प्रतिबन्धित नोट जोरसिमल चेक प्वाइन्टमा खटिएका सशस्त्रले पक्राउ गरेपछि आक्रोशित मुद्रामा चेक प्वाइन्ट पुगेका होटेलका सञ्चालक बले भन्ने बलाराम सापकोटाले डियुटीमा खटिएका सशस्त्र प्रहरीलाई धम्काएका थिए ।  उनले दुई जना पत्रकारलाई आफै भात खुवाएर तिमीहरूको निगरानी गर्न पठाउने भन्दै थर्काएका हुन् । सापकोटाले पावर लगाएर सबै प्रहरीको सरुवा समेत गरिदिने धम्की दिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । 

सापकोटाले डियुटीमा खटिएका सशस्त्र कर्मचारीलाई थर्काउँदा बिओपी काँकडभिट्टाका प्रमुख इन्स्पेक्टर प्रेमकुमार राई निरीह भएर होटेलका सञ्चालक सापकोटा अगाडि प्रस्तुत भएका थिए । सशस्त्रलाई धम्काएको कुरा इन्स्पेक्टर राईले भने अस्वीकार गरे । उनले धम्काउन नभई बुझ्न मात्रै केही व्यक्ति चेक प्वाइन्ट आएको उनले  बताए ।

यस्तै, भारतीय सीमा नजिकै खोलिएको यो पाँचतारे होटेलले पटक–पटक गलत धन्दा चलाउँदै आए पनि काँकडभिट्टा नाकामा खटिएका सुरक्षाकर्मी मुख दर्शक बन्ने गरेका छन् । होटेलले विभिन्न बहानामा भारतबाट भाडामा सामान ल्याउने र भन्सारमा कम मूल्याङ्कन गरी सोही बराबरको धरौटी मात्रै राखेर भारतीय अवैध सामान यतै राख्ने गरेको स्रोतले बताएको छ । अवैध धन्दा चलाउन होटेलले सुरक्षाकर्मीलाई समेत मासिक सेटीङ मिलाउने गरेको प्रहरीनिकट स्रोत बताउँछन् ।  

सम्बन्धित समाचार