२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडमा बलात्कृत बालिकालाई दुर्व्यवहार प्रकरण : प्रहरी हवल्दार पूजा प्रसाईँलाई कारबाही

sajilo news
झापा
२०७९ असार ३२ गते , शनिबार
बिर्तामोडमा बलात्कृत बालिकालाई दुर्व्यवहार प्रकरण : प्रहरी हवल्दार पूजा प्रसाईँलाई कारबाही

झापा । बलात्कृत बालिकालाई दुर्व्यवहार गर्ने इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार पूजा प्रसाईँलाई कारबाही गरिएको छ । उनीमाथि प्रश्न उठ्ने बित्तिकै कारबाही स्वरूप प्रसाईँलाई ओखलढुङ्गा सरुवा गरिएको झापाका प्रहरी प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

बलात्कार पीडित झापाको अर्जुनधाराकी बालिकालाई उनले अस्वाभाविक रुपमा प्रश्न सोधेर विवादमा तानिएकी थिइन् । बलात्कारपछि गर्भवती भएकी १५ वर्षीया बालिकालाई प्रहरी हवल्दार प्रसाईँले गरेको दुर्व्यवहार बारे उनको न्यायमा खटिएका युवाहरूले सार्वजनिक गरेका थिए । सोही घटनापछि बिर्तामोड घर भएकी प्रसाईँलाई साबिकको दरबन्दी अनुसार ओखलढुङ्गा फिर्ता पठाइएको प्रवक्ता पाठकले जानकारी दिए ।

बिहीबार प्रहरी कार्यालय आएकी बालिकालाई प्रहरी हवल्दार प्रसाईँले छ महिनासम्म किन नबोलेको रु तिमी लाटी हो । सुरुमा नमज्जा भयो होला, पछि त मज्जा आयो होला नि होइन रु पैसा, कपडा दियो होला’ भन्दै अस्वाभाविक प्रश्न गरेको पीडित परिवारको गुनासो सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । यसअघि सामुदायिक प्रहरी बिर्तामोडमा कार्यरत रहेकी प्रहरी हवल्दार प्रसाईँलाई पदीय मर्यादा विपरीत टिकटक बनाएर सामाजिक सञ्जालमा हालेको भन्दै इलाका प्रहरी कार्यालय तानिएको थियो । प्रहरीले बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरिसकेको छ ।

कक्षा ७ मा पढ्दै आएकी उनलाई सधैँ निराश देखिएपछि शिक्षिकाले सोधपुछ गरेका थिए । ‘शिक्षिकाले एकान्तमा लगेर सोध्दा आफू बलात्कृत भएको सुनाएकी रहिछन्,’ बिर्तामोडका डिएसपी कुँवरले भने, ‘त्यसपछि जाहेरी परेको थियो । स्वास्थ्य जाँच गर्दा गर्भवती रहेको देखियो । धेरै सोझी छिन्, घटनाबारे चुपचाप रहिछन् ।’ बालिकाको आमा बितेको हुनाले उनी बुबासँगै बस्दै आएकी थिइन् ।

बुबा दिनभर काममा जाने हुनाले छिमेकीले गत वर्षको दसैँबाट नै उनलाई बलात्कार गर्दै आएको बताइएको छ । चैतदेखि भने उनको महिनावारी रोकिएको थियो । तर उनले घर परिवारमा घटनाबारे सुनाएकी थिइनन् । डर त्रास वा प्रलोभनका कारण घटनाबारे नखुलेको हुन सक्ने डिएसपी कुँवरले बताए । बिहीबार जाहेरी परे लगत्तै प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

सम्बन्धित समाचार