ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना
जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल रहेको पाइएको छ । प्रदेश १ सरकारको रु एक करोड ५० लाख लगानीमा मुन रक्स इन्टरनेसनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको हो ।
जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले जडान गरिएका उपकरण सही देखिए पनि ट्रस भवन कमसल बनेको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । ‘ट्रस भवनको पर्खाल धकेल्दा ढल्ने र छानासमेत कागजजस्तो हालेको देखिएको छ’, उनले भने, ‘पर्खालभन्दा माथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको देखिएकाले भुक्तानी रोक्न भनिएको छ ।’
अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेस लगाएर ९टाँसेर० बनाइएको छ । तर, ट्रस टाँसिएको भागमा पर्खाल लगाइएको छैन । सिंगल इँटाको पर्खाल रहेकाले निर्माणाधीन अस्पताल भवनको निर्माण सामग्री ओसारपसारका क्रममा ओहोरदोहोर गर्ने ठूला सवारी साधन ९हेभीवेट० गाडीको कम्पनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने खतरा छ ।
अक्सिजन प्लान्टको ट्रस निर्माणका क्रममा गुणस्तरहीन काम भएको आवाज उठाउँदा समेत निर्माण कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको स्थानीय बासिन्दा इन्द्र कसजूले बताए ।
अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत शुक्रवार नगरप्रमुख तीर्थराज भट्टराई, जिसस सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राईलगायतको टोलीले निरीक्षण गरेको थियो ।
‘अक्सिजन प्लान्टको भवन निर्माण कम्पनीको लापरबाही देखिएको छ’, नगरप्रमुख भट्टराईले भने, ‘लापरबाही गर्ने निर्माण व्यवसायीमाथि तत्काल छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ ।’
अक्सिजन प्लान्ट जडान गर्ने मुनरक्स इन्टरनेशनल प्रालिका सञ्चालक अशोक धमलाले प्लान्टको उपकरण खरिद गरेर ल्याउने र इन्स्टलेसन मात्र आफ्नो दायित्व भएको र बाँकी काम अस्पतालले गर्नुपर्ने बताए ।
ट्रस निर्माणका क्रममा गुणस्तर कायम गर्न पटक–पटक निर्माण कम्पनीलाई खबरदारी गर्दा ‘हुन्छ’ भन्दै टारेको जिल्ला अस्पतालका प्रमुख डा नीतु लामाले बताइन् । ‘अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ट्रस भवन यस्तै हुनुपर्छ भनेर डिजाइन थिएन । तर, स्थापना गर्ने जिम्मा सम्बन्धित ठेकेदार कम्पनीको हो’, उनले भनिन्, ‘सम्झौता अनुसार ठेकेदार कम्पनीले प्लान्ट स्थापना गर्यो । गुणस्तर कायम गर्न पटक–पटक गरिएको खबरदारीलाई बेवास्ता गर्दा संरचना कमजोर भएको छ ।’
अक्सिजन प्लान्ट स्थापनाका क्रममा भएको लापरबाहीको विषयमा छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।