झापामा भारतीय नागरिक हत्या प्रकरण : घटनामा संलग्न थप एक जना पक्राउ
झापा । झापामा भारतीय नागरिकको हत्यामा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दरहरैँचा नगरपालिका– ६ निवासी २४ वर्षीय शैलेश सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
गत असार ९ गते भारत गुजरात राज्य अहमदाबाद, कुवेरनगर निवासी ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाइको हत्या भएको थियो । उनको शव असार १२ गते अर्जुनधारा नगरपालिका– ४ स्थित जुकेखाडी साहसी टोलभित्रको ह्युमपाइपमा फेला परेको थियो । हत्या गरी शवलाई बोरामा राखेर त्यहाँ फ्याँकिएका थिए ।
हत्यामा संलग्न अर्जुनधारा नगरपालिका– ७ स्थित डाँडागाउँ निवासी ३२ वर्षीया जानुका देवी थापा, सोही ठाउँका ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका १० निवासी २५ वर्षीय सुरेश परियारलाई असार १९ गते पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरिसकेका छन् । घटनामा संलग्न सापकोटा चाहिँ फरार थिए ।
प्रहरीले सापकोटालाई शुक्रवार भारतको सिक्किमबाट पक्राउ गरेको हो । सापकोटा जानुकाकी फुपूको छोरा हुन् । जानुकासँग सम्बन्धमा रहेको नरेश कुमारलाई उनले नै योजना बनाएर मारेका हुन् । जानुकाले नरेशलाई मार्न ५ लाखको सुपारी दिएका थिए । जानुकाकै घरमा गएका बेला नरेश कुमारलाई मादक पदार्थ सेवन गराई कुटपिटसँगै परियार र सापकोटाले फलामको मार्तोले निधार लगायत शरीरको विभिन्न भागमा प्रहार गरी हत्या गरेका थिए ।