बीमा रकम उपलब्ध नगराए सेवा ठप्प पार्ने बीपी प्रतिष्ठानको चेतावनी
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी साउन ७ गतेसम्म सरकारले बीमा कार्यक्रम अन्तर्गत दिनुपर्ने रकम उपलब्ध नगराए सेवा स्थगित गर्ने चेतावनी दिएको छ।
यसअघि भोलि सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सेवा स्थगित गर्ने भनेको प्रतिष्ठानले साउन ७ गतेसम्मको भाखा सारेको हो। प्रतिष्ठानका डेपुटी निर्देशक डा। जगत नारायण प्रसादले आइतबार एक सूचना निकालेर आगामी साउन ७ गतेसम्म स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने जानकारी गराएका हुन्।
साउन ७ गतेसम्म पनि प्रतिष्ठानबाट शोधभर्ना पाउनुपर्ने सम्पूर्ण रकमको भुक्तानी नभए साउन ८ देखि स्वास्थ्य बीमाका सम्पूर्ण सेवा स्थगन गर्ने चेतावनी प्रतिष्ठानले दिएको छ।
यसअघि निकालिएको सूचनामा असार २० गते सोमबारबाट सेवा स्थगन गर्ने भनिएको थियो। तर, स्वास्थ्य बीमा बोर्डले आइतबार प्रतिष्ठानलाई पठाएको पत्रमा सेवा प्रदान, दाबी प्रविष्ट र भुक्तानीमा देखिएका समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने आश्वासन पछि प्रतिष्ठानले सेवालाई निरन्तरता दिने भएको हो।
बोर्डको पत्रमा प्रतिष्ठानले गरेको दाबीलाई प्राथमिकताका साथ परीक्षण भइरहेको र त्यसको शोधभर्ना प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ। साथै प्रतिष्ठानबाट उठाइएका अन्य समस्याहरु, सेवाको दररेट र सुविधाको थैली परिमार्जन गरिने भएकाले बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सेवा नरोक्न अनुरोध गरेको छ। बोर्डको पत्र प्राप्त भएलगत्तै प्रतिष्ठानले सेवालाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो।