२०८३ बैशाख २४ गते , विहीबार

मिर्गौला पीडित नवीनको उपचारका लागि सङ्कलित १ लाख ३० हजार रुपैयाँ हस्तान्तरण

sajilo news
झापा
२०७९ असार १६ गते , विहीबार
मिर्गौला पीडित नवीनको उपचारका लागि सङ्कलित १ लाख ३० हजार रुपैयाँ हस्तान्तरण

भद्रपुर । मिर्गौला पीडित भद्रपुर नगरपालिका- ९ निवासी १३ वर्षीय नवीन श्रेष्ठका परिवारलाई उपचार रकम हस्तान्तरण गरिएको छ ।  मिर्गौला पीडित नवीन बचाउ अभियानमा जुटेका सामाजिक अभियन्ता भद्रपुर- ६ निवासी सञ्जय भुइमाली र उनका श्रीमती भावना कटुवाल (सिर्जना) ले टिकटक तथा विभिन्न सहयोगी हातहरूबाट १ लाख ३० हजार ५२५ रुपैयाँ सङ्कलन गरेका थिए ।

अभियन्ता भुइमाली र कटुवालले भद्रपुर नगरपालिकामा बिहीबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरी सो रकम परिवारलाई हस्तान्तरण गरेका हुन् । भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल र उपमेयर राधा कार्कीले सो रकम नवीनका आमा पूर्णमायालाई दिएका हुन् । उनको परिवारमा आर्थिक सङ्कट आइलागेपछि 'मानव सेवा नै ठुलो धर्म हो' भन्दै श्रीमतीको सहयोगमा सो रकम सङ्कलन गरी पीडित परिवार दिएको अभियन्ता भुइमालीले जानकारी दिए । 

भद्रपुर– ९ घोडामारास्थित पशुपतिनाथ आधारभूत कक्षा ६ मा अध्ययनरत छोरा नवीनलाई बचाइदिन उनका आमा पूर्णमाया श्रेष्ठले पनि अपिल गरेकी छिन् । विगत ५ वर्षदेखि मिर्गौला रोगबाट छटपटाइरहेका नवीनको उपचारमा हालसम्म १९ लाख रुपैयाँ बढी खर्च भइसकेको बताउँदै पूर्णमायाले भनिन्, ‘छोराको उपचारका लागि मेची अस्पताल भद्रपुर, ओम साई पाथीभरा अस्पताल भद्रपुर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन अस्पताल काठमाडौँ धाइसकेको छु, हाल  कान्तिबाल अस्पतालमा उपचार गराइरहेको छु ।’ पूर्णमाया श्रेष्ठको नाम उल्लेख गरी सिभिल बैङ्कको खाता नम्बर ०९८१०४६४९५२०१७ मा रकम जुटाएर सहयोग गरिदिन उनले सबै समक्ष आग्रह समेत गरेकी छिन् ।

सम्बन्धित समाचार