भद्रपुरका बिरामीलाई निःशुल्क रगत र स्वास्थ्य चौकीहरूमा एमबिबिएस डाक्टर उपलब्ध गराइने
भद्रपुर । भद्रपुर नगरपालिकाले साउन १ गतेदेखि भद्रपुर नगर क्षेत्रभित्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नगरपालिकाको ११ औं नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत गर्दै नगर प्रमुख गणेश पोखरेलले नेपाल रेडक्रस सोसाइटी झापा शाखासँगको सहकार्यमा नगरपालिकाको आर्थिक सहयोगमा नगर क्षेत्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने जानकारी दिएका छन् । नगरपालिकाले सो कार्यक्रमका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै स्वास्थ्यतर्फ पृथ्वीनगर, महेशपुर र चन्द्रगढी स्वास्थ्य चौकीहरूमा साउन १ गतेदेखि एमबिबिएस डाक्टरले सेवा दिने, महेशपुर स्वास्थ्य चौकीमा ल्याब सञ्चालन गर्ने, गर्भवती महिलाहरूलाई पोसिलो खानेकुरा र सुपानेट झुल वितरण गर्ने, ज्येष्ठ नागरिक, मजदुर र विद्यालय तहका विद्यार्थीको वार्षिक एक पटक निः शुल्क स्वास्थ्य परीक्षण गरिने, असहाय विपन्न र ज्येष्ठ नागरिकको लागि निःशुल्क एम्बुलेन्स सेवा, सन्थाल समुदायको निःशुल्क स्वास्थ्य बिमा गर्ने नगर प्रमुख पोखरेलले बताए ।