एमफासिस टेक फाउन्डेसनद्वारा श्रम शोषण गरेको आरोप, एक वर्ष बित्दा पनि कर्मचारीले पाएनन् पैसा

झापा । एमफासिस टेक फाउन्डेसन काठमाडौँमाथि श्रम शोषण गरेको आरोप लागेको छ । एमफासिसले भद्रपुर नगरपालिकाका विभिन्न वडा कार्यालय रहेका व्यक्तिगत घटना दर्ता किताब डिजीटाइजेशनको काममा खटाइएका करार कर्मचारीमाथि श्रम शोषण गरेको आरोप लागेका हुन् ।
श्रम शोषणमा परेका कर्मचारीले पटक–पटक पाउने पर्ने भुक्तानीका लागि एमफासिसका कर्मचारीसँग सम्पर्क गर्दा समेत रकम उपलब्ध नगराएको पीडित कर्मचारीहरुले गुनासो पोखेका छन् ।
गृह मन्त्रालयको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना सुदृढीकरण परियोजना कार्यक्रम अन्तरगत नगरपालिकाले व्यक्तिगत घटना दर्ता किताब डिजीटाइजेशन गर्न लागि सार्वजनिक सूचना आवहान गरेका थिए ।
डिजीटाइजेशनका लागि नगरपालिकाले ६ लाख १८ हजार रुपैयाँ न्यूनतम अङ्क राखेर सूचना प्रकाशन गरेका थिए । सो टेन्डर एमफासिस टेक फाउन्डेसनले भ्याटबाहेक ३ लाख ९२ हजार २३३ रुपैयाँमा पारेको नगरपालिकाको परियोजना सेवा इकाईका प्रकाश भट्टराईले जानकारी दिए ।
एमफासिसका टेक्निकल अफिसर अर्जुन तिवारीले नगरपालिकासँग २०७७ मङ्सिर ११ गते सम्झौता गरेका थिए । एमफासिसले नगरको तीन स्थानमा एकै पटक २०७७ मङ्सिर २१ गतेदेखि सुरु गरेको डिजीटाइजेशनमा नगरभित्रका तीन दर्जन बढी युवायुवतीलाई करारमा नियुक्ती गराएर काम गर्न लगाएका थिए । एमफासिसले एउटा घटना कम्प्युटरमा दर्ता गराए बापतमा प्रति व्यक्ति ३ रुपैयाँ दिने सर्त थियो । दुई महिनासम्म काम गराए पनि एमफासिसले अधिकांश कर्मचारीको रकम नदिएको र दिँदा पनि पाउनु पर्ने रकमबाट घटाएर रकम दिएको पाइएको छ । एमफासिसले एक वर्ष बितिसक्दा पनि काम गरेको रकम नदिएको पीडित कर्मचारी दीपिका मण्डलले बताइन् ।
‘तीन महिना काम गर्दा जम्मा १८ हजार रुपैयाँ भएको थियो,’ उनले भनिन्, ‘९ हजार ३६५ रुपैयाँ अझै पाउनु छ, पैसाको लागि एमफासिसका टेक्निकल अफिसर अर्जुन तिवारी र दीपेन्द्र राईसँग पटक पटक फोन सम्पर्क गर्दा पैसा दिएनन् । अहिले त उनीहरूले फोन पनि उठाउन छाडिसक्यो अर्को पीडित कर्मचारी साहिब शेखले बताए । ‘मैले ५ हजार रकम पाउनु छ, मलाई त अहिलेसम्म एक रुपैयाँ दिएन,’ उनले भने । त्यस्तै अन्जु तामाङले १० हजार ५ सय रुपैयाँ पाउँछिन् । उनले गरेको फोन पनि एमफासिसका कर्मचारी उठाउँदैन । एमफासिसको बदमासी बारे पीडितहरूले पटक पटक नगरपालिकाका कर्मचारीलाई जानकारी गराइसकेको छ । तर, अहिलेसम्म उनीहरूको माग सम्बोधन भएको छैन । नगरपालिकाको परियोजना सेवा इकाईका भट्टराईले भने, ‘खटाइएका कर्मचारीलाई भुक्तानी दिन कयौँ पटक एमफासिसका टेक्निकल अफिसर तिवारी र राईलाई फोन मार्फत जानकारी गराउँदा पनि बेबस्ता गरेकै हो ।’
एमफासिसको ५ प्रतिशत बोलपत्र धरौटी रकम १५ हजार ४५० र भुक्तानी धरौटी रकम १६ हजार ३९८ गरी ३१ हजार ८४८ रुपैयाँ नगरपालिकासँग रहेको नगरपालिकाका लेखा अधिकृत सुवास भट्टराईले जानकारी दिए । पीडित कर्मचारीलाई रकम नदिएसम्म त्यो धरौटी रकम फिर्ता नदिने नगरपालिकामा छलफल भइरहेको बुझिएको छ । यता एमफासिसका टेक्निकल अफिसर तिवारीको मोबाइल नम्बरमा बन्द छ, भने राईको फोन उठ्ने ।