स्वास्थ्य स्वयंसेविकाले राखे बिर्तामोड नगरपालिकालाई १७ बुँदे माग
बिर्तामोड । बिर्तामोड नगरपालिकाका सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले १७ बुँदे माग राखेका छन् । उनीहरूले नवनिर्वाचित नगर प्रमुख , उपप्रमुख , १० वटै वडाका वडाध्यक्षसहित नगरका सम्पूर्ण जनप्रतिनिधिहरूलाई भेला गराएर आफ्ना माग राखेका हुन् । महँगी बढेका कारण सामुदायिक महिला स्वयंसेविकाहरूले पाउँदै आएको भत्ता वृद्धि गरी प्रतिदिन १ हजार र खाजाको २ सय गरी १२ सय पुर्याउनु पर्ने , मासिक भत्ता नेपाल सरकारले तोकेको मजदुरको नियम अनुसार उपलब्ध गराउनु पर्ने , सेवाबाट निवृत्त हुँदा काम गरेको समयदेखि छोड्ने समयसम्म महिनाको हजारले गुणा गरी बिदाइ रकम उपलब्ध गराउनु पर्ने लगायतका माग रहेका छन् ।
बिर्तामोड ३ स्थित नगर अस्पतालमा आयोजित जनप्रतिनिधिहरूको सम्मान कार्यक्रमका अवसरमा सो माग पत्र बुझाएका हुन् । माग पत्र बुझाउँदै सामुदायिक स्वास्थ्य स्वयंसेविका नगर समिति बिर्तामोडकी अध्यक्ष निर्मला नेपालले आफूहरू प्रतिदिन ८३ रुपैयाँ ज्यालामा काम गर्न बाध्य भएको गुनासो गरिन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईँले आफूहरूले पाएको जिम्मेवारी अझ ओजपूर्ण होस् भन्दै हाम्रो नगर राम्रो नगर बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गरिन् ।
त्यस्तै उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले आफ्नो जिम्मेवारीप्रति जबाफदेही नहुने नगरपालिकाका कर्मचारीलाई कामबाट बिदा दिइने बताए । बिर्तामोड नगरपालिकामा २२६ जना कर्मचारी र ३० जना स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन् । सामुदायिक स्वास्थ्य स्वयंसेविका नगर समिति बिर्तामोडकी अध्यक्ष नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले पनि बोलेका थिए । पवित्रा राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन बबिता घिमिरेले गरेकी थिइन् ।