मेचीलाई ‘सेन्टर फर एक्सिलेन्स’ को रुपमा विकास गरिने, लखनपुरमा ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पताल बनाउने
प्रदेश १ सरकारले झापाको भद्रपुरस्थित मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम पेस गर्दै प्रदेश प्रमुख परशुराम खापुङले मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गर्ने बताएका हुन् । उनले झापाको कमल गाउँपालिकाको लखनपुरमा ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पताल यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने समेत बताएका छन् ।
त्यस्तै आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा एवम् अन्य वैकल्पिक चिकित्सा सेवा एकीकृत तथा एकद्धार प्रणालीबाट उपलब्ध गराउने व्यवस्था मिलाउने र सबै जिल्लामा अस्पतालहरूमा गुणस्तरीय सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सक र आवश्यक जनशक्तिको व्यवस्था गरिने उनले बताए । अस्पतालबाट हाल प्रवाह भइरहेको चिकित्सा सेवालाई सहज र सुलभ बनाउन टेलिमेडिसिन प्रणाली सञ्चालन गरिनेछ । प्रेषण (रेफरल) थप सेवा पनि विस्तार गरिने उनले बताए ।