अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालतको आदेश
उच्च अदालत पोखराले अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्ने आदेश दिएको छ। तारिखमा रिहाइको माग गर्दै शाहले उच्च अदालत कास्कीमा निवेदन दिएका थिए।
जिल्ला अदालत तनहुँकै पुर्पक्षका लागि थुनामा पठाएको आदेशलाई उच्च अदालतले सदर गरेको उच्चका उप-रजिष्ट्रार विष्णु आचार्यले जानकारी दिए। जिल्ला अदातलको आदेशविरुद्ध शाहले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम उच्च अदालत पोखरामा निवेदन दिएका थिए।
जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले चैत १० गते थुनछेक बहसपछि शाहलाई थुनामा पठाउन आदेश गरेको थियो। शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई १ लाख रूपैयाँ धरौटीमा रिहाको आदेश दिएको थियो। सो आदेशलाई पनि आज उच्च अदालत पोखराले सदर गरेको आचार्यले बताए।
शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको आरोप लागेको छ। उता जिल्ला अदालतमा भएको बयानमा पीडित किशोरी र उनका बाबुले भने फरक बयान दिएका थिए।