झापामा १२ वटा मोटरसाइकल चोर्ने दुई नाबालकसहित ८ जना पक्राउ
झापा । झापामा मोटरसाइकल चोरी घटनामा संलग्न दुई नाबालकसहित थप ८ जना पक्राउ गरेका छन् । झापा प्रहरीले दुई दिन अघि मात्र चोरिएका चार वटा मोटरसाइकल दुई जनालाई पक्राउ गरेको थियो । जिल्लाकै मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगर क्षेत्रबाट विगत केही महिनादेखि मोटरसाइकल चोरी घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार इलाका प्रहरी कार्यालय अनारमनिमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् ।
पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका- ५ निवासी १८ वर्षीय करण मण्डल, बिर्तामोड- ३ निवासी १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा नगरपालिका- ८ निवासी १८ वर्षीय समीर मियाँ, आहिल ग्यारेजका सञ्चालक सप्तरी जिल्ला टिकुली- ५ निवासी १७ वर्षीय करण महमद , गौरीगञ्ज गाउँपालिका- ५ निवासी १८ वर्षीय ओमप्रकाश यादव, इलाम जिल्ला चुलाचुली बताउने १८ वर्षीय राहुल श्रेष्ठको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

घटनामा संलग्न १४ र १५ वर्ष उमेरका दुई जना नाबालक रहेको उनले बताए । बिर्तामोडमा मोटरसाइकल चोरीका घटना बढेसँगै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिको संयुक्त टोलीले सूक्ष्म रुपमा खोजतलास सुरु गरेको थियो ।
सोही क्रममा जेठ १८ गते अर्जुनधारा- ८ कदमगाछीस्थित अशोक विहारीको घर र अर्जुनधारा- १० स्थित विमल हुमागाईँको घर सटरमा ग्यारेज सञ्चालन गर्ने सप्तरी टिकुली ५ घर भएका करण महमदको मोटरसाइकल ग्यारेजबाट ६ वटा, जिल्लाका अन्य स्थानबाट ५ वटा र इलामबाट एउटा गरी १२ वटा चोरी भएका मोटरसाइकल बरामद गर्न प्रहरी सफल भएको उनले बताए । बरामद गरिएका मोटरसाइकलहरू प्र १–०१–०१४ प ९३१९ , मे ६ प ७६३९ , प्र १–०१–०१२ प २७५ , नम्बर प्लेट नटाँसेको एउटा, मे ७ प ७६४३ , मे १ प ७९४ , मे ६ प ६४५१ , मे ११ प ५२३७ , मे प ७६३९ , मे ९ प ७३४६ , मे ५ प ७१५०, मे ४ प ४०६२ नम्बरको रहेको छ ।