२०८३ बैशाख ११ गते , शुक्रबार

दमकमा माओवादीको निष्कर्ष : निर्वाचनमा हार्नुको मुख्य कारण कांग्रेस

sajilo news
पत्रपत्रिका
२०७९ जेष्ठ १८ गते , बुधबार
दमकमा माओवादीको निष्कर्ष : निर्वाचनमा हार्नुको मुख्य कारण कांग्रेस

झापा । नेकपा माओवादी केन्द्र दमकले गठबन्धनका दल कांग्रेस र राप्रपाको अन्तर्घातले आफ्ना उम्मेदवार पराजित भएको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको समीक्षा बैठकले गठबन्धनका अरू उम्मेदवार विजयी हुँदा माओवादीका उम्मेदवार हार्नुपरेको निष्कर्ष निकालेको हो । 

दमकमा माओवादीले चार वडाध्यक्षसहित १६ जना उम्मेदवार उठाएको थियो । गठबन्धनको अन्य दलका उम्मेदवार विजयी हुँदा माओवादीका सबै उम्मेदवार पराजित भए । हारको मुख्य कारण कांग्रेस नै रहेको माओवादी केन्द्र दमकका इन्चार्ज बेदु गौतमले बताए । 

‘माओवादी हारको मुख्य कारण कांग्रेसभित्रको अस्वस्थ प्रकारको अन्तरविरोध हो । माओवादीका वडाध्यक्षका उम्मेदवार त पराजित भए नै । अरू गठबन्धनबाट सबै उम्मेदवार विजयी हुँद गर्दा माओवादीबाट वडा सदस्यका उम्मेदवार किन हारे रु’ उनले भने, ‘कांग्रेसले अन्तर्घात गर्यो । राप्रपाले पनि केही अन्तर्घात गर्यो नै ।’ 

दमकमा कांग्रेसका शीर्ष नेता हुँदा पनि गठबन्धनका उम्मेदवारलाई जिताउन नसकेको उनको आरोप छ । दमकमा कांग्रेसबाट केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बा, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, महाधिवेशन प्रतिनिधि सुरेश सुब्बा, रमा लिम्बूलगायत नेताले उचित भूमिका खेल्न नसक्दा गठबन्धनले प्रमुख, उपप्रमुखमा जिते पनि अल्पमतमा पर्नुपरेको माओवादीको निष्कर्ष छ । 

हारको कारण अन्तर्घात भए पनि प्रमुख, उपप्रमुखमा जित निकाल्नु सफलता भएको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले बताए । ‘हामी हार्यौँ । तर मुख्य उद्देश्य पूरा भयो,’ उनी भन्छन्, ‘प्रमुख, उपप्रमुख जिताउनु  हाम्रो सफलता हो ।’

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा दमकमा एमालेविरुद्ध राप्रपा, कांग्रेस, माओवादीलगायत दलले गठबन्धन गरेका थिए । प्रमुख, उपप्रमुखसहित तीनवटा वडाध्यक्ष गठबन्धनले जिते पनि एमाले दमकमा शक्तिशाली रह्यो । दमकमा एमालेले दुईतिहाइभन्दा धेरै जित्यो । गठबन्धन भए पनि माओवादीका एकजना उम्मेदवार पनि विजयी हुन सकेनन् । 

गठबन्धनका अन्य उम्मेदवार पराजित हुँदै गर्दा पनि कांग्रेस दमकले भने अझै समीक्षा बैठक बोलाएको छैन । कांग्रेस दमकका सभापति प्रकाश प्रसाईंले बुधबार पदाधिकारी बैठक बोलाइएको र वडाबाट सुझाव मागेर चाँडै चुनावी समीक्षा बैठक बोलाइने बताए । नयाँ पत्रिकाबाट

सम्बन्धित समाचार