२०८३ बैशाख २४ गते , विहीबार

मेची आँखा अस्पताल जाने बिरामीलाई सास्ती, होटेल व्यवसायीबिच नै विवाद

sajilo news
झापा
२०७९ जेष्ठ १७ गते , मंगलबार
मेची आँखा अस्पताल जाने बिरामीलाई सास्ती, होटेल व्यवसायीबिच नै विवाद

बिर्तामोड- ३ स्थित सैनिक मोडमा रहेको मेची आँखा अस्पतालमा उपचारार्थ आउने बिरामीलाई अस्पतालभित्रै होटेल व्यवसायीले तानातान गर्ने विकृति नौलो होइन । अस्वस्थ होडबाजी चल्ने क्रममा त्यस विषयमा होटेल व्यवसायीहरुबीच विवाद भएको छ ।

अस्पतालले भोलेन्टियर भन्दै दुईजना होटेल व्यवसायीलाई मात्र अस्पताल हाताभित्र छिर्न दिएर ग्राहक लैजाने अनुमति दिँदा अरू व्यवसायी आक्रोशित भएका हुन् । दुईजना होटेल व्यवसायीलाई मात्र भित्र छिर्न दिएर अरूलाई जान नदिएको विषयलाई लिएर आपत्ति जनाउँदै होटेल व्यवसायीहरूले हिजो फेरि अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन् । बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीको उपस्थितिमा होटेल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ , जिल्ला उपाध्यक्ष राजन प्रसाईँ , महासचिव शिवराज पौडेलसहितको टोलीले अस्पतालका लेखापाल आलोक श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएको हो । टोलीमा रामेश्वर मण्डल , गोपाल राजवंशी , कृष्णप्रसाद राजवंशी, कोसिस घिमिरेलगायतका होटेल व्यवसायी पनि सहभागी थिए ।

यसअघि उनीहरूले त्यस विषयमा लिखित निवेदन दिएका थिए । अस्पतालले भोलेन्टियर भन्दै न्यु गुवाहाटी होटेलका सञ्चालक विकास खरेल र ब्रम्हपुत्र होटेलका सञ्चालक दिलीप सिलवाललाई मात्र अस्पताल हाताभित्र प्रवेश गर्न दिएको हो । अस्पतालभित्र प्रवेश गर्न पाएका ती दुई होटेल सञ्चालकहरूले भएभरका सबै ग्राहकहरू आआफ्नो होटेलमा लैजाने गरेको अन्य व्यवसायीको गुनासो छ ।मेची आँखा अस्पताल र दृष्टि आँखा अस्पतालमा आउने गरेका भारतीय बिरामीहरूलाई लक्षित गरी त्यस क्षेत्रमा करिब ५० वटा होटेल सञ्चालनमा छन् । ती होटलहरुले बिरामीहरूसँग निकै दलाली गर्ने गरेको पाइएको छ । होटलहरुको दररेटमा एकरूपता छैन । कुनै कुनै होटेलले होटेल व्यवसायी संघले तोकिदिएको दररेटभन्दा निकै तल झरेर रु एक सय भारुमा पनि कोठा दिने गरेको पाइएको छ ।

वडाध्यक्ष बुढाथोकीले होटेल व्यवसायीहरुबीच देखिएको विवादका सम्बन्धमा तत्काल बोर्डको बैठक राखेर समाधान खोज्न अस्पतालका लेखापाल श्रेष्ठलाई आग्रह गरे । उनले होटलहरुकै कारण गहनाको रुपमा रहेको मेची आँखा अस्पताल बदनाम हुन लागेको भन्दै त्यस्ता समस्यालाई बेलैमा निराकरण गर्नुपर्नेमा जोड दिए । लेखापाल श्रेष्ठले त्यस विषयलाई तत्काल बोर्ड बैठकमा राख्ने आश्वासन दिएका छन् ।

सम्बन्धित समाचार