२०८३ बैशाख ५ गते , शनिबार

भद्रपुर नगरपालिका : सात दशकको इतिहासमा को-को भए नगर प्रमुख ?

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ ७ गते , शनिबार
भद्रपुर नगरपालिका : सात दशकको इतिहासमा को-को भए नगर प्रमुख ?

झापा । लोकतन्त्र र गणतन्त्र जारी भएपछि देशका जनताले नयाँ संविधान पाए । संविधान पाए लगतै २०७४ सालमा स्थानीय तह सदस्य निर्वाचन भयो । त्यस बेलाको निर्वाचनमा पनि काँग्रेसले भद्रपुरमा इतिहास रच्न असफल भयो । 
२००७ सालको परिवर्तन र प्रजातन्त्रपछि राजा शासनमा वि.सं. २००८ सालमा स्थापन भएको भद्रपुर नगरपालिकामा २०७४ सालसम्म काँग्रेसका कुनै व्यक्ति प्रमुख पदमा नजितेको इतिहास छ । 
यो नगरपालिकामा २०३८–३९ सालमा चन्द्रगढी र महेशपुर गाविसका केही वडाहरूलाई एकीकृत गरी १५ वडामा विभाजन गरिएको थियो । २०७१ मा साबिक चन्द्रगढी र महेशपुर गाविसलाई गाभेर पुरै भद्रपुर नगरपालिका बन्यो । २०७३ को स्थानीय तहको पुनर्संरचना प्रक्रियामा साबिक भद्रपुर नगरपालिका र पृथ्वीनगर गाविस मिलाएर १० वडामा विभाजन गरी भद्रपुर नगरपालिका बन्न पुग्यो । वृहत् नगरपालिका हुनु भन्दा अघि २००८–२०१४ सालमा नगरको सभापति स्व. सत्यनारायण अग्रवाल बने । २०१४–२०१८ सालसम्म स्व। पदमबहादुर गिरी सभापति भए । २०१७ सालको ‘कु’ पछि राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गर्दै गाउँ, नगर र जिल्ला पञ्चायतको अवधारणा कार्यान्वयनमा ल्याए । २०१८–२०१९ सालसम्म स्व. मोहनलाल अग्रवाल भद्रपुरको सभापति भए । त्यसपछि राजाले पञ्चायती व्यवस्था अनुसार स्थानीय निर्वाचन गरायो । २०१९–२०२१ सालसम्म नगरको प्रधानपञ्चमा तुलसीप्रसाद आचार्य भए । २०२१–२०२३ सालसम्म स्व. डा. ऋषिकेश उपाध्याय प्रधानपञ्चको जिम्मेवारी निभाए । २०२३–२०२६ स्व. स्वयम्भूलाल श्रेष्ठ प्रधानपञ्च र चेतनाथ शर्मा उप९प्रधानपञ्च भए । २०२६–२०२९ सालसम्म स्व। डा। ऋषिकेश उपाध्याय प्रधानपञ्च र चेतनाथ शर्मा  उप–प्रधानपञ्च भए । २०२९ माघ र फागुनमा ओमप्रकाश सरावगी प्रधानपञ्च भए । सरावगीमाथि मुद्दा लागेपछि  उप–प्रधानपञ्च रामचन्द्र शर्मा २०२९–१२ देखि २०३३ सम्म कार्यवाहक प्रधानपञ्च चलाए । २०३४–२०३९ सालसम्म भक्तिमान देवान प्रधानपञ्च र ओमप्रकाश सरावगी उप–प्रधानपञ्च भए । २०३९–२०४४ सालसम्म ओमप्रकाश सरावगी प्रधानपञ्च र गोविन्दचन्द्र क्षेत्री उप–प्रधानपञ्चमा निर्वाचित भए । ओमप्रकाश सरावगी फेरि २०४५–२०४७ सालसम्म प्रधानपञ्च र भक्त खवास उप-प्रधानपञ्च भए । त्यसबेला कुनै दलबाट उम्मेदवारी दिन पाइँदैन थियो । दलमा लागेका व्यक्तिहरू पनि जन पक्षीयको तर्फबाट उम्मेदवार बन्ने व्यवस्था थियो । २०४७ सालको परिवर्तनपछि २०४९ सालमा स्थानीय निकायको निर्वाचन भयो । त्यस निर्वाचनमा राजनीतिक दलहरू खुलेर चुनावी मैदानमा उत्रिए ।  त्यसबेला काँग्रेसबाट मेयरमा जीतबहादुर पुरी र छविलाल रिजाल उपमेयरमा उठेका थिए । उनीहरूलाई पराजित गर्दै मेयरमा एमालेका पुष्पराज पोखरेल र सद्भावना पार्टीबाट उपमेयरमा भारतेन्दुकुमार मल्लिक विजयी भए । 
२०५४ सालको स्थानीय निर्वाचनमा काँग्रेसबाट मेयरमा ओमप्रकाश सरावगी र उपमेयरमा राजेन्द्रप्रसाद घिमिरे उठेका थिए । उनीहरूलाई पराजित गर्दै सद्भावना पार्टीका भारतेन्दुकमार मल्लिक मेयरमा र उपमेयरमा एमालेका जीवनकुमार श्रेष्ठ विजयी भए । 
त्यसपछि पूर्व राजा ज्ञानेन्द्र शाहले सत्ता हात लिँदै स्थानीय निकायको निर्वाचन गराउँदा ०६२ साल मंसीरमा नगरको मेयरमा भारतेन्दुकमार मल्लिक र उपमेयरमा गोपाल धमला स्वतन्त्रबाट विजयी भए । उनीहरूले छोटो समय मात्र नगर चलाउन पाए । 
त्यसलगतै २०६२–६३ को दोस्रो जनआन्दोलन भयो । जनताले राजतन्त्र फाल्दै देशमा लोकतन्त्र र गणतन्त्र स्थापन गर्यो । त्यसपछि एकै पटक २०७४ सालमा पहिलो चरणको स्थानीय तह सदस्य निर्वाचन भयो । त्यो निर्वाचनमा पनि काँग्रेसले नगरमा हार बेहोरियो । काँग्रेसबाट मेयरमा गणेश पोखरेल र उपमेयरमा तारादेवी भुर्तेल उठेका थिए । काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै मेयरमा एमालेका जीवनकुमार श्रेष्ठ र उपमेयरमा चन्द्रामाया श्रेष्ठ विजयी भएका थिए । अहिलेको निर्वाचनमा गठबन्धनसँग मिलेर काँग्रेसले एमालेको लालकिल्ला तोड्दै मेयर जित्दै इतिहास रचेको छ । एमालेका असारु राजवंशी र राप्रपाका नवराज पनेरुलाई पराजित गर्दै काँग्रेसका गणेश पोखरेल मेयरमा निर्वाचित भएका हुन् । त्यस्तै राप्रपा एक्लै चुनाव लडेर उपमेयर जितेर इतिहास रच्न सफल भएको छ । माओवादीका शिवकुमार राजभण्डारी र एमालेकी कौशिल्या अधिकारीलाई पराजित गर्दै उपमेयरमा राप्रपाकी राधा कार्की निर्वाचित भएकी छिन् । 

सम्बन्धित समाचार