२०७९ जेष्ठ ८ गते , आईतबार

सिटौला र लिङदेनको निर्वाचन क्षेत्रका चार पालिकामा उम्मेदवार छनोटमा सकस, पुरानै उम्मेदवार दोहोराउँदै दल

कचनकवल र हल्दिबारीमा एमालेसँग गठबन्धनको गृहकार्य  

sajilo news
पार्थ मण्डल
२०७८ चैत्र ३० गते , बुधबार
सिटौला र लिङदेनको निर्वाचन क्षेत्रका चार पालिकामा उम्मेदवार छनोटमा सकस, पुरानै उम्मेदवार दोहोराउँदै दल

 

कचनकवल र हल्दिबारीमा एमालेसँग गठबन्धनको गृहकार्य

झापा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी ह्वातै बढेको छ । झापा– ३ नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्र हो । 
यस पटक मेडिकल व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँ पनि झापा– ३  बाटै सङ्घीय सांसदको उम्मेदवार बन्ने चर्चा चुलिएसँगै जिल्ला, प्रदेशदेखि केन्द्रीय स्तरसम्मका राजनीतिक दल देखि नेताहरूको ध्यानकेन्द्रीत गराएको छ । स्थानीय तह निर्वाचनको मत परिणामले नै आउँदो प्रतिनिधिसभाको निर्वाचनमा नेताहरु सिटौला, लिङदेन र प्रसाईँको भाग्यको फैसला हुने छ । 
त्यसैले यस निर्वाचन क्षेत्रमा पर्ने पालिकाहरूमा यी नेताहरूसँगै पार्टी कार्यकर्ताको धारणा र जनचाहना अनुसार नै उम्मेदवार उठाउन खोजिरहेका छन् । झापा क्षेत्र– ३ मा भद्रपुर नगरपालिकाका, कचनकवल गाउँपालिका, हल्दिबारी गाउँपालिका र बाह्रदशी गाउँपालिका पर्छ । 
२०७४ सालको स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार भद्रपुरमा एमालेको बहुमत छ । त्यस्तै कचनकवलमा राप्रपाको बहुमत छ, भने हल्दिबारीको अध्यक्षमा राप्रपाले जिते पनि कार्यपालिकामा एमालेको बहुमत छ । बाह्रदशीमा काँग्रेसले अध्यक्ष र उपाध्यक्ष जिते पनि एमालेको बहुमत छ । 
निर्वाचन आयोगका अनुसार भद्रपुरमा ५१ हजार २६०, कचनकवलमा ३० हजार २२१, हल्दिबारीमा २३ हजार ९५७ र बाह्रदशीमा २५ हजार ८२६ मतदाता रहेको छ । 

यस्तो छ उम्मेदवार छनोट प्रक्रिया

चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरूले धमाधम उम्मेदवार छनौट प्रक्रियादेखि घोषणा गर्नसम्म लागि परेको छ । सत्तारुढ गठबन्धनका दलहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा जिल्ला स्तरमै पालिकादेखि वडासम्मका उम्मेदवार बाँडफाँड गर्न दिनहुँ बहस र छलफल चलाइरहेको छ । 
गठबन्धनको केन्द्रीयस्तरको अपिल बमोजिम नै अन्य दललाई पनि समावेश गरी चुनावमा जाने तयारीमा दलहरू जुटेको छ । १५ वटा पालिका र १३१ वडामा बाँडफाँड गर्ने विषयमा नै गठबन्धनबिच सकस भइरहेको छ । अघिल्लो निर्वाचनमा जितेका पालिका र वडा गठबन्धनमा रहेका दलहरूले अन्य दललाई नदिने विषयमा बढी मतभेद रहेको बुझिएको छ ।
यता नेकपा (एमाले)ले वडादेखि पालिकासम्म नै आन्तरिक चुनावी प्रतिष्पर्दाबाट उम्मेदवार छनोट सकिसकेको छ । विवाद नदेखिएको पालिकामा भने सर्वसम्मत रुपमा उम्मेदवारको नामावली पठाइएको छ । पार्टीभित्रका सदस्यबाटै बढी मत ल्याउने उम्मेदवारको नामावली माथिल्लो तहमा पठाइसकेको र त्यहीबाट उम्मेदवार टुङ्गाउने एमालेको नीति छ । त्यस्तै राप्रपाले कुनै दलसँग चुनावी तालमेल नगर्ने भन्दै धमाधम पालिकाहरूमा उम्मेदवार घोषणा गर्न थालिसकेको छ । 

अधिकांश पदमा पुरानै उम्मेदवार दोहोरिँदै

राप्रपा : अन्य ठुला दलहरूले उम्मेदवार घोषणा गर्न सकस भइरहेको बेला राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आफ्नो निर्वाचन क्षेत्रका पालिकाहरूमा उम्मेदवार घोषणा सुरु गरिसकेका छन् । 
राप्रपाले भद्रपुर नगरपालिकामा मेयरमा नवराज पनेरु (राजु) र उपमेयरमा राधा कार्कीले उम्मेदवार बनाएको छ । दुवै उम्मेदवार २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि त्यही पदमा उठेका हुन् । त्यस्तै राप्रपाले कचनकवल गाउँपालिकामा अञ्जरा आलमलाई पुनः अध्यक्ष पदमा उठाउन लागेको छ । आलम वर्तमान गाउँपालिकाका अध्यक्ष हुन् । गाउँपालिकाकी उपाध्यक्ष निमसरि राजवंशीलाई पुनः उपाध्यक्षमा उठाउन लागेको छ । उनी वर्तमान गाउँपालिकाकी उपाध्यक्ष हुन् । 
त्यसैगरी हल्दिबारी गाउँपालिकामा रवीन्द्र लिङदेन अध्यक्षमा पुनः दोहोराउने भएका छन् । रवीन्द्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनका भाइ हुन् । उनी अघिल्लो निर्वाचनमा एमालेका अध्यक्ष उम्मेदवार मञ्जु सिटौला, काँग्रेसका दिलीप मावो र माओवादीका तुलसी ओलीलाई पराजित गरेका थिए । बाह्रदशी गाउँपालिकामा अध्यक्षमा रामकुमार सिंह राजवंशी अध्यक्षमा उठ्न लागेका छन् । अघिल्लो निर्वाचनमा राजवंशी राप्रपाबाटै वडा नम्बर– ५ को वडा अध्यक्षमा उठेर एमालेसँग पराजित भएका थिए । बाह्रदशी र हल्दिबारी गाउँपालिकाको उपाध्यक्षको नाम अहिलेसम्म टुंगो नलागिसकेको हल्दिबारी गाउँपालिकाका अध्यक्ष लिङदेनले बताए । 

एमाले :  कचनकवलबाहेक भद्रपुर, हल्दिबारी र बाह्रदशीमा एमालेको कार्यपालिकामा बहुमत छ । २०७४ सालको निर्वाचनमा एमालेले भद्रपुरमा मेयर र उपमेयरसहित ८ वटा वडा अध्यक्ष जितेका थिए । हल्दिबारीमा उपाध्यक्षसहित २ वटा वडा अध्यक्ष र बाह्रदशीमा ५ वटा वडा अध्यक्ष जितेका थिए । त्यही कारणले एमालेभित्र उम्मेदवार छनोटमा सकस देखिएको हो । पालिकास्तरमा आकांक्षी उम्मेदवार धेरै देखिएपछि एमाले वडादेखि पालिकास्तरसम्म (मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य) छनोटका लागि आन्तरिक चुनाव गराएका थिए । पार्टीभित्र कै आन्तरिक चुनावी प्रतिष्पर्दाबाट भद्रपुरको मेयरमा असारु राजवंशीले सबै भन्दा बढी मत ल्याएका छन् । दोस्रोमा वर्तमान उपमेयर चन्द्रामाया श्रेष्ठ, तेस्रोमा कालिचरण बस्नेत, चौथोमा वर्तमान मेयर जीवनकुमार श्रेष्ठ, पाँचौँमा राम दवाडी र छैटौँमा सिता प्याकुरेलले मतभार प्राप्त गरेका छन् । यस्तै, उपमेयरमा कौशिला अधिकारीले सबैभन्दा धेरै मत प्राप्त गरिन् । दोस्रोमा हरि तिम्सिना, तेस्रोमा विनोद पोखरेलले मत पाएका छन् । वर्तमान मेयर जीवन र उपमेयर चन्द्रामाया मेयर पद नछाड्ने अडान लिएपछि पार्टीभित्रै उम्मेदवार छनोटका लागि सकस बढेको हो । 
कचनकवलमा अध्यक्ष पदमा नवराज भट्टराई, दुर्गादेवी नेपाल र नाम जिल्ला कमिटी सिफारिस गरिएको पार्टीका ३ नम्बर क्षेत्रीय इन्चार्ज वसन्त बानियाँले जानकारी दिए । त्यस्तै उपाध्यक्षमा हरि घिमिरे, उपेन्द्र आचार्य, भीमा खतिवडा, मेनुका ढुंगाना र तिलबहादुर राईको नाम सिफारिस गरिएको उनले बताए । 
कचनकवलले अध्यक्ष र उपाध्यक्ष पदका आकांक्षीहरुको नाम आन्तरिक चुनावी प्रतिस्पर्धा नगरी सहमतिकै आधारमा सिफारिस गरी पठाएको उनको भनाई छ । हल्दिबारीमा वर्तमान गाउँपालिका उपाध्यक्ष डम्बर गिरी, त्रिलोचन सापकोटा र मोहन रेग्मीको अध्यक्ष पदका उम्मेदवारका लागि नाम जिल्ला कमिटीलाई सिफारिस गरेको इन्चार्ज नरेश चुडालले जानकारी दिए । उपाध्यक्ष पदमा गीता तिम्सिना (भण्डारी), सरिता न्यौपाने, शान्ता गौतम, रोशनी सिवाकोटी, ललिता बस्नेत र कल्पना रेग्मीको नाम सिफारिस गरी पठाइएको छ । हल्दिवारीले अध्यक्ष र उपाध्यक्षहरूको नाम आन्तरिक चुनाव नगर्ने सहमतिमा सिफारिस गरी पठाएको जनाइएको छ । 
बाह्रदशीमा आन्तरिक चुनावी प्रतिस्पर्धाबाट अध्यक्षमा देवेन्द्र चम्लागाँई, पदम थापाको नाम जिल्ला कमिटी सिफारिसको लागि पठाएको छ । चम्लागाँई माओवादी त्यागेर एमाले प्रवेश गरेका हुन् । उपाध्यक्षमा रेणुका भुर्तेल, शान्ता खरेल, रविना ढकाल (गंगा), पिन्डा निरौलाको नाम सिफारिस गरी पठाइएको छ । कसले कति मतभार ल्याएको विवरण गाउँ कमिटीले सार्वजनिक नगरी गोप्य राखेको छ ।    

गठबन्धन : गठबन्धनका दलहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अहिले पालिकाका मेयर÷उपमेयर, अध्यक्ष÷ उपाध्यक्षदेखि वडा अध्यक्ष हुँदै वडा सदस्य बाँडफाँडका लागि जिल्लादेखि पालिका स्तरसम्मका नेता तथा कार्यकर्ताहरूसँग बहस र छलफल गरिरहेको छ । गठबन्धनमा आबद्ध कुन दलले कति सिट हत्याउन सक्ने त्यही विषयमा छलफलमा जुटेको छ । गठबन्धनमा भागबन्डा नमिलिरहेको अवस्थामा काँग्रेसले भद्रपुर, कचनकवल, हल्दिबारी र बाह्रदशीमा प्रमुख पद नै दाबी गरिरहेका छन् । 
त्यति मात्र नभई काँग्रेसले भद्रपुरको मेयरमा गणेश पोखरेल, कचनकवलको अध्यक्षमा कालेन्द्र राजवंशी, हल्दिबारीको अध्यक्षमा तुलसी ओली र बाह्रदशीको अध्यक्ष खड्गप्रसाद राजवंशीलाई उम्मेदवार बनाउनु पर्नेमा जोडतोडका साथ लागेको काँग्रेस निकट एक नेताले बताए । राजवंशी वर्तमान बाह्रदशी गाउँपालिका अध्यक्ष हुन् । हल्दिबारीका ओली माओवादी केन्द्र छाडेर काँग्रेसमा लागेका हुन् । चारै पालिका यी नामका उम्मेदवारहरू अघिल्लो निर्वाचनमा पनि त्यही पदमा उठेका थिए । ओली चाहिँ माओवादीको तर्फबाट हल्दिबारीको अध्यक्षमा उठेका थिए । काँग्रेसले ती पालिकाहरूमा उपमेयर÷उपाध्यक्ष पदका उम्मेदवारको नाम चाहिँ सार्वजनिक गरेको छैन । ती पद अन्य दललाई दिने लबिङमा काँग्रेस छ । यता माओवादीले पनि भद्रपुर र हल्दिबारीमा प्रमुख पद दाबी गरिरहेको छ । कचनकवल र बाह्रदशीमा उपाध्यक्ष पद दाबी गरिरहेको अवस्था छ । भद्रपुर र हल्दिबारी प्रमुख पद हाम्रो दाबी रहेको माओवादीका प्रदेश १ सदस्य डिल्ली घिमिरे (हिक्मत)ले बताए । सोही विषयमा छलफल भइरहेको उनले बताए । ‘पार्टीले अहिले नै उम्मेदवारहरूको नाम चाहिँ घोषणा गरिसकेको छैन,’ उनले भने, ‘पहिला बाँडफाँड मिल्छ, अनि मात्र उम्मेदवारको नाम घोषणा गरिन्छ ।’ माओवादीबाट निर्वाचित हल्दिबारी २ का वडा अध्यक्ष राजेन्द्र योङहाङ गाउँपालिका अध्यक्षका दाबेदार मानिएको छ । त्यस्तै एकीकृत समाजवादीले पनि भद्रपुर प्रमुख पद दाबी गरिरहेको छ । जसपा पनि भद्रपुर नै टार्गेटमा राखेको छ । दलका नेताहरूको आआफ्नो अडानका कारण बाँडफाँडमा विवाद देखिएकोले यसलाई सुल्झाउन सबै लागि परेको जनाइएको छ । 

कचनकवल र हल्दिबारीमा एमालेसँग गठबन्धनको गृहकार्य  

राप्रपाले अध्यक्ष पदमा जितेको कचनकवल र हल्दिबारीमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमाले संयुक्त गठबन्धन बनाएर चुनावमा जाने गृहकार्यमा जुटेको चर्चा छ । 
केन्द्रीयस्तरको निर्णय विपरीत एमालेसँग गृहकार्यमा गठबन्धन लागेपछि सबैको ध्यान कचनकवलतर्फ केन्द्रित भएको छ । केन्द्रीयस्तरमा चुनावी गठबन्धन हुनुअघि नै कचनकवलमा एमाले, काँग्रेस र माओवादी मिलेर स्थानीय तह चुनाव लड्ने पालिका स्तरमै लगभग पक्कापक्की भइसकेको थियो । 
अहिले पनि त्यही विषयमा कुरा उठेको छ । राप्रपाको बहुमत रहेको कचनकवलमा सबै दल एकातिर गठबन्धन भएर चुनावमा जाने विषयमा दलका नेताहरूले अहिले नै स्पष्ट धारणा बाहिर ल्याउन खोजेका छैनन् । कचनकवलमा सत्तारुढ गठबन्धनसँग तालमेल गर्ने विषयमा एमालेसँग आन्तरिक छलफल भइरहेको पार्टीका क्षेत्रीय नम्बर इन्चार्ज वसन्त बानियाँले बताए । ‘गठबन्धन गर्ने कि नगर्ने विषयमा अहिले नै केही भन्न मिल्दैन,’ उनले भने, ‘अहिले हामी गृहकार्यमै जुटेका छौँ ।’ त्यस्तै नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलले केन्द्रीयस्तरमा गठबन्धन हुनुअघि नै एमालेसँग तालमेल गर्ने पालिका स्तरमै छलफल भएको थियो । अहिले पनि पालिका स्तरमै नेता तथा कार्यकर्ताहरू बिच छलफल भइरहेको होला, तर आधिकारिक रुपमा त्यस विषयमा हामीमाझ कुरा नआइसकेको उनको भनाई छ । काँग्रेसका झापा सहसचिव कालेन्द्र राजवंशीले गाउँपालिकामा एमाले र माओवादीसँग चुनावी तालमेल गर्ने विषयमा छलफल भइरहेको बताए । स्थानीय समेत रहेका राजवंशीले अन्य दल नभएकोले यी दुई दलसँग सहकार्य गर्ने विषयमा सकारात्मक कुरा अघि बढेको छ । तालमेल भएमा काँग्रेसलाई अध्यक्ष पद दिने एमाले र माओवादी सकारात्मक रहेको उनको भनाई छ ।  
यता माओवादी केन्द्रका प्रदेश सदस्य डिल्ली घिमिरे (हिक्मत)ले कचनकवलमा एमालेसँग गठबन्धन गर्ने वा नगर्ने विषयमा आन्तरिक गृहकार्य भइरहेको बताए । ‘केन्द्रीयस्तरबाट त्यस्तो कुनै प्रस्ट धारणा वा निर्णय आएको छैन,’ उनले भने, ‘साथीहरूले पालिका स्तरमै छलफल गरिरहेका छन् ।’ 
यता हल्दिबारीमा गठबन्धनबिच तालमेल नमिलेको खण्डमा काँग्रेस एमालेसँग गठबन्धन गरी चुनावमा जाने रणनीति बनाएको काँग्रेस निकट स्रोतले बताए ।  स्रोतका अनुसार हल्दिबारीमा काँग्रेसले अध्यक्ष पदसहित २, ४ र ५ नम्बर वडा अध्यक्ष मागिरहेको छ । माओवादीले पनि अध्यक्षसहित २ र ४ नम्बर वडा अध्यक्ष मागिरहेको छ । अघिल्लो निर्वाचनमा २ नम्बरमा वडा अध्यक्षसहित सबै पदमा माओवादीले र ४ नम्बरमा वडा अध्यक्ष मात्र काँग्रेसले जितेको थियो । केन्द्रीयस्तरमा गठबन्धन हुनुअघि नै काँग्रेस एमालेसँग तालमेल गर्ने योजना बनाइसकेको थियो । गठबन्धनमा भागबन्डा नमिलेको खण्डमा हल्दिबारीमा जे पनि हुन सक्ने स्रोत बताउँछन् ।    
 

सम्बन्धित समाचार