वीरेन्द्र माविका विद्यार्थीलाई झोला वितरण
भद्रपुर । भद्रपुरस्थित वीरेन्द्र माविका चन्द्रगढीमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालयका पूर्व प्रधानाध्यापक स्व. डिल्लीप्रसाद भट्टराई स्मृति अक्षयकोषबाट विद्यालय झोला वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत शिशु कक्षा देखि कक्षा ५ सम्मका छात्रछात्रालाई बुधवार आयोजित एक संक्षिप्त कार्यक्रमका बिच स्व. भट्टराईकी पत्नी दुर्गादेवी भट्टराईले झोला वितरण गरेका हुन् ।
स्व. भट्टराई स्मृतिमा आर्थिक वर्ष २०७२/७३ मा ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँमा अक्षयकोष स्थापना गरिएको थियो । सोही अक्षयकोषबाट प्राप्त ६५ हजार ब्याज रकमबाट कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिसकिएको र केही बचत रकमबाट साना विद्यार्थीहरूलाई झोला वितरण गरिएको विद्यालयका प्रधानाध्यापक खिलाराज कोइरालाले बताए ।
उनले झोला वितरणसँगै नानीहरूलाई विद्यालयमा जाने र पढ्न थप प्रेरित गराउने उद्देश्यले नयाँ शैक्षिक सत्रको सुरुवातीसँगै झोला वितरण गरिएको जानकारी दिए । प्रअ कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक इन्द्रबहादुर पौडेलले गरेका थिए । कार्यक्रममा विद्यालयका पूर्व शिक्षक खडानन्द भट्टराई ,कर्मचारी भोलाप्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो ।