२०८३ बैशाख २४ गते , विहीबार

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २८ गते , शनिबार
झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु

झापा । झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ। अभियान एक सातासम्म चल्ने छ। यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराइने लक्ष्य छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने बताए।

प्रदेश १ मा झापा र मोरङमा मात्र अभियान सुरु भएको छ। झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए।

अभियानअन्तर्गत स्वास्थ्यकर्मी र स्वयंसेवक ६र६ सय परिचालन गरिएको छ भने उनीहरुमार्फत हात्तीपाइले रोगविरुद्धको औषधि (डिइसी) २० लाख ७२ हजार १४ डोज र एल्बेन्डाजोल नौ लाख २० हजार ८९५ डोज वितरण गरिनेछ। औषधि खुवाउने बेलामा छुटेका तथा रोगी व्यक्ति रोग निको भएपछि सम्बन्धित स्वास्थ्य संस्थामा गई औषधि सेवन गर्न सक्नेछन्।

स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले सरकारले हात्तीपाइले रोग निवारणका लागि बर्सेनि ठूलो धनराशि खर्चिंदै आएको बताए। झापामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर पनि बढ्दै गएको छ। सन् २०१२ देखि हात्तीपाइले रोगविरुद्धको अभियान सुरु भएयता औषधि सेवन दर बढ्नुका साथै रोगीको संख्यामा पनि कमी आएको छ। झापामा २०१२ मा जिल्लामा ५५.५९ प्रतिशतले औषधि सेवन गरेका थिए भने २०२१ मा ८५ प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाको तथ्यांक छ।

कार्यालयले औषधि सेवनलाई शतप्रतिशतमा पुर्‍याउन लक्ष्य लिएको छ। चालु आर्थिक वर्षमा २९२ मा हात्तीपाइलेका नयाँ रोगी फेला परेका छन्। जसमा हाइड्रोसिल १४६, खुट्टा सुन्निएका १४० र हात र स्तन सुन्निएका ६ जना रहेका छन्। गत आर्थिक वर्षमा जिल्लामा ३५१ मा हात्तीपाइले देखिएको छ। झापामा २४ प्रतिशत संक्रमण दर रहेकोमा अहिले घटेर २.३३ जनामा झरेको छ। हात्तीपाइले लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यसले हातखुट्टा सुनिने, अण्डकोष सुनिने गर्दछ। रासस

सम्बन्धित समाचार