२०८३ बैशाख २४ गते , विहीबार

झापामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १२ गते , विहीबार
झापामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी

भद्रपुर । झापामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानका लागि आवश्यक तयारी सुरु गरिएको छ । एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकोले एघारौँ पटक अभियान सञ्चालन हुन लागेको हो । भद्रपुर नगरपालिकामा आज जिल्लामै पहिलो पटक अभियान बारे सर्वपक्षीय अन्तरक्रिया गरिएको छ । 

भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा अभियान बारे सञ्चालन गरिएको योजना तर्जुमा तथा बहु निकाय गोष्ठीमा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले हात्तीपाइले रोग, यसबाट बाँच्ने उपाय, आम औषधि सेवन अभियान र अभियानका प्रभावहरूका बारे जानकारी गराउनुका साथै तयारी बारे स्पष्ट पारेका थिए । 

सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल सरकारले गरे पनि केही जिल्लामा निवारण हुन नसक्दा अभियान थपिएको उनले जानकारी दिए । प्रदेश १ मा झापा र मोरङमा यो कार्यक्रम छ । उनका अनुसार यही फागुन २८ देखि आम औषधि सेवन अभियान सञ्चालन हुनेछ । यसका लागि झापामा ६ सय स्वास्थ्यकर्मी र त्यति नै सङ्ख्यामा स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् भने जिल्लाका ८ लाख ४३ हजार नागरिकलाई औषधि सेवन गराउने लक्ष्य छ । उक्त सङ्ख्याका लागि करिब ९ लाख चक्की एडबान्डाजोल र  २० लाख चक्की डीइसी औषधिको व्यवस्था गरिएको चौलागाईंको भनाइ छ ।

ब्राक्रोप्टी नामको परजीवीबाट लाग्ने हात्तीपाइले रोग सरुवा रोग मानिन्छ । उक्त परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्दछ । यो रोग लागेका व्यक्तिहरूमा खुट्टा हात सुन्ने, पुरुषमा हाइड्रोशील हुने, महिलामा यौनाङ्ग तथा स्तन सुन्निने हुन्छ । यो रोग लागिसकेपछि उपचार नहुने हुँदा रोग लाग्न नदिने उपायको रुपमा आम औषधि औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

पछिल्लो तथ्याङ्क अनुसार झापामा हात्तीपाइले आशंका गरिएका २९० बिरामी छन् । तीमध्ये १४६ जनामा हाइड्रोशील, १४० जना खुट्टा सुन्निएको र ६ जना हात र स्तन सुन्निएका बिरामी रहेको चौलागाईंले जानकारी दिए । उक्त औषधि ओछ्यान परेका सिकिस्त बिरामी, दुई वर्षमुनिका केटाकेटी र गर्भवती, सुत्केरीबाहेक सबैले सेवन गर्न मिल्ने छ ।

स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईको अध्यक्षतामा स्वास्थ्य शाखाका मनोज भट्टराईले सञ्चालन गरेको सो गोष्ठीका प्रमुख अतिथि जीवनकुमार श्रेष्ठले हात्तीपाइलेबिरुद्धको औषधिका सम्बन्धमा जनमानसमा अनावश्यक भ्रम रहेको बताउँदै विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरी प्रयोगका लागि पठाइएकोले बिनासंकोच सेवन गर्न आग्रह गरे । 

सम्बन्धित समाचार