२०८१ फाल्गुन ४ गते , आईतबार

बिर्तामोडका ३ हजार ४६१ विद्यार्थीलाई पोसाक वितरण

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ११ गते , बुधबार
बिर्तामोडका ३ हजार ४६१ विद्यार्थीलाई पोसाक वितरण

झापा ।  बिर्तामोड नगरपालिकाले ३ हजार ४६१ जना विद्यार्थीलाई पोसाक वितरण गरेको छ । बिर्तामोड नगर क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ५ सम्मका छात्र छात्रालाई विद्यालय पोसाक वितरण गरिएको हो । 

आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीहरूको लागि पोसाक वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका १७ वटा सामुदायिक विद्यालयमा पुगेर पोसाक वितरण गरिएको हो । फागुन ४ गते बुधवार देखि सुरु गरिएको पोसाक वितरण अभियानमा नगरप्रमुख ध्रुवकुमार सिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईँ, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतको टोली खटिएको थियो । सबै विद्यालयमा पुगेर जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, प्रधानाध्यापक र शिक्षकको उपस्थितिमा पोसाक वितरण गरिएको हो । 

नगरप्रमुख ध्रुवकुमार सिवाकोटीले सामुदायिक विद्यालयमा पुगेर अनुगमन गर्दा अभिभावकहरूले ड्रेस किन्न नसकेका कारण धेरै बालबालिका विद्यालय जानबाट वञ्चित भइरहेको पाइएकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेर पोसाक वितरण गरिएको बताए ।

यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईँले पोसाक वितरणले अभिभावकहरूलाई थोरै भए पनि राहत मिलेको बताइन । उनले सामुदायिक विद्यालयहरूको पढाइको स्तरलाई गति दिनको लागि विद्यालय व्यवस्थापन समिति,अभिभावक,शिक्षक लगायत सबैको साथ सहयोग हुनु पर्नेमा जोड दिइन् । 

पोसाक वितरण कार्यक्रमले अभिभावक,शिक्षक र विद्यार्थीहरूमा हौसला मिलेको छ । लक्ष्मी आधारभूत  विद्यालय बिर्तामोड ७ का शिक्षक केशव उप्रेतीले प्रविधि मैत्री कक्षा व्यवस्थापनका लागि समेत बिर्तामोड नगरपालिको जोड दिँदै आएको भन्दै प्रशंसा गरे ।  सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा साथीको जस्तो पोसाक नहुँदा हिनतावोधको समस्या हुने गरेको भन्दै उनले पोसाक वितरण कार्य सह्रानीय रहेको बताए । यस्तै बिर्तामोड ६ बुट्टावारिमा रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक तोया काफ्लेले पनि नगरपालिकाले राम्रो कार्यको थालनी गरेको बताए । यस कार्यले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढ्ने शिक्षक काफ्लेको भनाई छ ।

बिर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका अझै ३ वटा विद्यालयमा पोसाक वितरण गर्न बाँकी छ । बिर्तामोड २मा रहेको साङ्गवेद संस्कृत माध्यमिक विद्यालय,बिर्तामोड ३ को मदरसा तालेमुल कुरान र बिर्तामोड ६ मा रहेको हरिहर आश्रमका विद्यार्थीहरूलाई पोसाक वितरण गर्न बाँकी रहेको हो । उक्त विद्यालयमा पनि चाँडै पोसाक वितरण गरिनै नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।


सम्बन्धित समाचार