२०८३ बैशाख २४ गते , विहीबार

बेहुलीले दिइन् पत्रकार उपचार कोषलाई १११११

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ६ गते , शुक्रबार
बेहुलीले दिइन् पत्रकार उपचार कोषलाई १११११

बिर्तामोड । सञ्चारकर्मी कृपा गुरागाईँले आफ्नो शुभ विवाहको अवसर पारी शुक्रबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेकी छिन् ।

बेहुली कृपा तथा उनका पिता तेजप्रसाद र माता वेदमायाले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम प्रदान गरेका हुन् ।

आफ्नो विवाहको शुभ अवसरमा झापाली पत्रकारहरूको हितमा योगदान गर्न रकम प्रदान गरेको कृपाले बताइन् । झापाको कनकाई ८ लक्ष्मीपुर घर भई तेह्रथुमको आठराई ६ चुहानडाँडाका हरि पराजुलीसंग विवाह गरेकी गुरागाईँलाई महासंघको टोलीले बधाई शुभकामना ज्ञापन गरेको छ ।

रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कार्यसमिति सदस्य रञ्जित परियार, स्वतन्त्र पत्रकार सङ्घ झापा अध्यक्ष नरेन्द्र ढकाल, पत्रकार नवीना कुइँकेल लगायतको सहभागिता थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरू बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

कोषमा सहयोग जुट्ने क्रम जारी छ । कोषमा हाल ५५ लाख रुपैयाँ बढी जम्मा भइसकेको छ ।  आफूले झैँ अरूले पनि विवाह, जन्मोत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने पत्रकार गुरागाईँले बताइन् ।

महासंघ झापा शाखाले सङ्घ–संस्था, सहकारी, बैङ्क, दाता सबै क्षेत्रलाई एक पटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।

सम्बन्धित समाचार