२०८१ माघ २५ गते , शुक्रबार

उखुबारीमा पुरिएको अवस्थामा दुईवटा शव फेला

sajilo news
पार्थ मण्डल
२०७८ माघ १३ गते , विहीबार
उखुबारीमा पुरिएको अवस्थामा दुईवटा शव फेला

विराटनगर । मोरङको धनपालथान–७ बोर्डिङ टोलस्थित उखुबारीमा खाल्डोमा पुरिएको अवस्थामा दुईजना पुरुषको शव फेला परेको छ। फेला परेकामध्ये एकजनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।बिहीबार दिउँसो खनेर निकालिएको शव सुनसरीको धरान–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको जिल्ला प्रहरी मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए।

उनका अनुसार मृतकका साथबाट एनटिसीको सिम कार्ड, पर्स र सवारीचालक प्रमाणपत्र पनि फेला परेको छ।बिहीबार उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाडेको अवस्थामा श्रेष्ठको शव भेटिएको हो। श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ।

उनको हत्या गरेपछि ५ फिट गहिरो खाडल खनेर शव गाडेको अवस्थमा फेला परेको प्रहरीले जनाएको छ।  बिहीबार एउटा खाल्डोबाट शव निकालिएको स्थानदेखि करिब ३० मिटरपूर्व उखुबारीमा ३०–३५ वर्षका अर्का एकजना पुरुषको शव बुधबार राति भेटिएको थियो।

दुवै शवको प्रकृति एकैखाले तरिकाले खाडल खनेर गाडेको अवस्थामा भेटिएको मोरङ प्रहरीका एसपी जिसीले जानकारी दिए। उनका अनुसार उखुबारीमा नै भेटिएको अर्का पुरुषको भने पहिचान खुल्न बाँकी छ। उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटाएका थिए। उखु खेतमा पुगेका कृषकले शङ्कास्पद खाल्डो भेटेपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा शव भेटिएको थियो।

एसपी जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ तर कसरी हत्या गरिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए। घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा एकान्त र उखुबारीको बीचमा भएका कारणले हत्याराले शव दबाउन उक्त स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ। थाहाखबरबाट

सम्बन्धित समाचार