२०८३ बैशाख २३ गते , बुधबार

मेची अस्पतालमा थप ११० सिलिन्डर उत्पादन गर्ने क्षमताको अक्सिजन प्लान्ट

sajilo news
पार्थ मण्डल
२०७८ माघ ९ गते , आईतबार
मेची अस्पतालमा थप ११० सिलिन्डर उत्पादन गर्ने क्षमताको अक्सिजन प्लान्ट

झापा । कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै मेची अस्पतालमा भद्रपुरमा थप अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय काठमाडौँले मेची अस्पतालमा जडान गरेको ११० सिलिन्डर उत्पादन गर्ने क्षमता भएको अक्सिजन प्लान्टको आइतबार उद्घाटन गरिएको छ।

चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाल लगायतको उपस्थितिमा कांग्रेस नेता सिटौलाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन्।

चिकित्सक संघको पहलमा चुजी फाउन्डेसन ताइवानले मेचीलाई अक्सिजन प्लान्ट सहयोग गरेको सङ्घका केन्द्रीय अध्यक्ष डा। कार्कीले जानकारी दिए। चुजी फाउन्डेसन ताइवानले मेचीसहित भोजपुर, पर्वत र कोसी अस्पताललाई अक्सिजन प्लान्ट दिएको उनले बताए। मेचीमा जडित अक्सिजन प्लान्टबाट एकै साथ धेरै सिलिन्डर उत्पादनका लागि बुस्टर जडान आवश्यक रहेको छ।

बुस्टर जडानका लागि प्रदेश सरकार र स्थानीय सरकारले सहयोग गर्नुपर्ने नेता सिटौलाले बताए। त्यसका लागि आफूले पनि पहल गर्ने उनको भनाइ छ। मेची अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।टङ्कप्रसाद बाह्रकोटीले अक्सिजन प्लान्टको बारेमा जानकारी दिए।

यसअघि मेचीमा प्रदेश १ सरकारले १ करोड लागतमा ३५ सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको छ। प्रदेश १ का तत्कालीन सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले उक्त प्लान्टको उद्घाटन गरेका थिए।

सम्बन्धित समाचार