२०८३ बैशाख २३ गते , बुधबार
कोरोना सङ्क्रमणबाट झापामा थप एक जनाको मृत्यु
झापा । कोरोना संक्रमणको तेस्रो लहर सुरुवात भएयता झापामा ओमिक्रोन भाइरसले तेस्रो सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो पटक दमकमा एक सङ्क्रमितको मृत्यु भएको हो । दमक नगरपालिका ४ का ८१ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार बिहान ११ बजे बिर्ता सिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनलाई पुस २८ गते नोबेल हस्पिटल विराटनगरमा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको थियो ।
यसअघि गत आइतबार झापामा ओमिक्रोन भाइरसबाट दोस्रो सङ्क्रमितको मृत्यु भएको थियो । कनकाई ७ की लिम्बू समुदायकी ७५ वर्षिया वृद्धाको ओमिक्रोनबाट मृत्यु भएको थियो भने त्यसअघि गत पुस २८ गते झापामा एक पुरुष सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६५९ पुगेको छ ।