झापामा ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ

झापा । प्रतिबन्धित लागू औषधसहित दमकबाट ३ जना पक्राउ परेका छन् । शुक्रबार विहान ४ बजे दमक २ हम्से–दुम्से सामुदायिक जङ्गलमा मे ३ प ५६६२ नं. को मोटरसाइकलमा सवार इलाम माङ्सेबुङ गापा २ बस्ने वर्ष ३२ का दीपेन्द्र राई र सोही ठाउँका वर्ष १९ का नुवसन मुखियाले प्रहरीलाई देखेर भागेपछि प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उनीहरूको साथमा रहेको २ ओटा झोलामा प्रतिबन्धित लागू औषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला पारेको थियो ।
उनीहरूलाई पक्राउ गरी मोटरसाइकलसहित इप्रका दमकमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै दमकबाट लागू औषधसहित थप एक जनालाई पक्राउ गरिएको छ । बिहीबार राति ९ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ३ बेलडाँगी शिविरबाट २३ वर्षीय राजन तामाङलाई ९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमाथि थप अनुसन्धान भइरहेको छ ।