कचनकवलमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
कचनकवल । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाको पथरियामा बिहीबार हाडजोर्नी तथा नसा रोगसम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
दूर दराजका विपन्न समुदाय तथा मजदुरहरूलाई लक्षित गरेर काठमाडौँस्थित नेपाल अर्थोपेडिक अस्पतालको आयोजना एवम् रोटरी क्लब अफ भद्रपुर, इनरह्विल क्लब अफ भद्रपुर, रोट्रयाक्ट क्लब अफ भद्रपुर, इन्ट्रयाक्ट क्लब अफ भद्रपुर र नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्र झापाको व्यवस्थापनमा कचनकवल २ नं वडा कार्यालय परिसरमा आयोजित शिविरमा नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा। युवराज खरेलको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले बिरामीको चेकजाँच गरेको थियो ।
शिविरमा कचनकवलका वृद्धवृद्धा, विपन्न परिवार र मजदुरहरू उल्लेख्य मात्रामा सेवा लिन आएको रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष विगत ओझाले जानकारी दिए । चिकित्सकीय टोलीमा विशेषतिर डा. समीर कार्की, डा. अनीश ज्ञवाली, स्वास्थ्यकर्मी मैना गुरुङ, क्षितिज गड्तौलालयात मेची अस्पताल, भद्रपुर नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यर्कीहरु समेत रहेका थिए । शिविर व्यवस्थापनमा भद्रपुरका रोटरियनहरुको उल्लेख्य सहभागिता थियो ।
शिविरबाट पहिलो दिन चारसय बढीले सेवा लिएको र सोही शिविर शुक्रबार कचनकवलकै वडा नं ६ को बनियानीमा सञ्चालन हुने नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठले जानकारी दिए। यो शिविर अर्थोपेडिक अस्पतालको वार्षिक कार्यक्रम तालिका अनुसार भएको बताउँदै श्रेष्ठले शिविरमा झन्डै चार लाख रुपैयाँ बराबरको औषधि पनि निःशुल्क वितरण गरिएको जानकारी दिए ।