तेस्रो लहरको त्रास : काँकडभिट्टामा सञ्चालनमा आयो हेल्थ डेस्क
झापा । पूर्वी नाका काँकडभिट्टामा मेचीनगर नगरपालिकाको काँकडभिट्टा हेल्थ हेल्प डेस्क बुधवारबाट सञ्चालनमा आएको छ । सुविधा सम्पन्न र बेडसहितको काँकडभिट्टा हेल्थ हेल्प डेस्कको नगर प्रमुख विमल आचार्यले उद्घाटन गरेपछि सञ्चालनमा आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
मेचीनगर नगरपालिकाको पहलमा स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको करिब ५० लाख रुपैयाँ हेल्थ डेस्क निर्माणका लागि विनियोजन गरिएको थियो । त्यसमा ४१ लाख ८४ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।
सबै सीमा क्षेत्रहरूमा स्वास्थ्य चेकजाँच गर्नका लागि नेपाल सरकारले धेरै वर्ष अघिदेखि ठाउँ ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरेको भन्दै नगरप्रमुख आचार्यले कहिले औलो, कहिले कालो ज्वरो, कहिले दादुरा तथा कहिले पोलियो रोग नियन्त्रणका लागि यस्ता संरचना तयार गरिएको बताए ।
अहिले कोभिड ओमिक्रोन समेतको संक्रमण सीमावर्ती क्षेत्रमा देखिएकाले र यो विशेष नाका भएका कारणले पनि चिकित्सक र अन्य प्राविधिकसहितको टोलीको व्यवस्था गरिएको नगरप्रमुख आचार्यको भनाई छ । कोभिडलगायत अन्य महामारी नियन्त्रणमा यो काँकडभिट्टा हेल्थ हेल्प डेस्कले महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
एउटा प्रारम्भिक उपचारको केन्द्रको रुपमा यो संरचना स्थापित गरिएको उनको भनाई छ । उपप्रमुख मिना पोखरेल उप्रेतीले विभिन्न समयमा आउने विभिन्न खाले महामारी नियन्त्रणमा नगरका सबै क्षेत्रले भूमिका खेल्न आवश्यक रहेको बताइन् । डेस्कमा बेडको पनि व्यवस्था रहेकाले अन्य खालका बिरामीहरूले समेत प्राथमिक उपचार प्राप्त गर्न सक्ने उनले जानकारी दिइन् ।
मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य धनप्रसाद गुरुङलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश बस्तीले गरेका थिए ।
कार्यक्रममा मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओली, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकडभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, विभिन्न राजनीतिक दल,सङ्घसंस्थाका प्रमुख प्रतिनिधिसहित उद्योगी, व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।