२०८१ माघ २ गते , बुधबार

अझै रोकिएन भद्रपुरमा अवैध भारतीय चिट्ठा कारोबार, प्रहरी प्रशासन बेखबर

sajilo news
पार्थ मण्डल
२०७८ पौष २० गते , मंगलबार
अझै रोकिएन भद्रपुरमा अवैध भारतीय चिट्ठा कारोबार, प्रहरी प्रशासन बेखबर
(दीपक अधिकारी) भद्रपुर । झापाको पूर्वोत्तर नाका, त्यसमा पनि झापा जिल्लाकै सदरमुकाम भद्रपुरमा भारतको बङ्गाल राज्यको उत्तरी क्षेत्रमा सञ्चालित चिट्ठाको खुलेआम बिक्री हुँदा पनि प्रहरी प्रशासन बेखबर रहेका छन् । 
 मिहिनेत नगरी करोडपति बन्ने सपना बोकेर लत बसेकै कारण सयौँ परिवारको बिल्लिबाठ हुन थालेको समाचार सञ्चारमाध्यममा पटक–पटक प्रकाशित भएपछि केही वर्ष अगाडि प्रहरी प्रशासन सक्रिय देखिए पनि पछिल्लो समय भने खुलेआम भारतीय चिट्ठा बिक्री हुन थालेको स्थानीयवासी बताउँछन् । प्रहरीले झन्डै आधा दर्जन जति भारतीय चिट्ठा बिक्री गर्ने भारतीय नागरिकलाई पक्राउ गरी कारबाही समेत नगरेको होइन । तर, पछिल्लो समय भने प्रहरी प्रशासन त्यसतर्फ मौन देखिन्छ । मौन मात्र हैन बेखबर नै देखिन्छन् । अझ भनौँ प्रहरी प्रशासनकै मिलेमता खुलेआम अन्य सामान बिक्री गरे सरह भद्रपुर बजारमा भारतीय नागरिक र स्थानीयले नै चिट्ठा बिक्री गरिरहेको प्रत्यक्षदर्शी बताउँछन् । प्रत्यक्षदर्शीका अनुसार केही महिना अगाडी चिट्ठा बेच्ने भारतीय नागरिक तथा स्थानीयहरू लुकिछिपी पसल–पसलमा गएर तथा चिट्ठा खेल्ने सम्बन्धित व्यक्तिलाई नै भेटेर सुटुक्क चिट्ठा बिक्री गर्थे तर अहिले खुलेआम बिक्री हुने गरेको छ । 
अवैध भारतीय चिट्ठा बिक्री हुने भद्रपुर नगर क्षेत्रको वास्तविकता के हो भने प्रहरीले नै चिट्ठा बेच्नेसँग महिनावारी लिने गरेको कारणले हो । सबैलाई कमाउन परेको छ, सीमा क्षेत्रमा खटिने प्रहरीलाई पनि नियम  कानुन पालन गर्ने गराउने भन्दा पनि कमाउने ध्याउन्न मै व्यस्त भएकोले पनि भद्रपुरमा अवैध भारतीय चिट्ठा खुलेआम बिक्री वितरण हुने गरेको हो । 
अवैध भारतीय चिट्ठाको भद्रपुरमा बिक्री वितरणको विषयमा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दलकुमार राईसँग जिज्ञासा राख्दा आफूलाई भद्रपुरमा भारतीय चिट्ठा बिक्री हुने गरेको  कुनै जानकारी नभएको बताउँछन् । उनी भन्छन्–मलाई चिट्ठाको विषयमा केही पनि जानकारी छैन, अहिलेसम्म कसैबाट कुनै पनि जानकारी आएको छैन । 
तर, कार्यालय वडा प्रहरी कार्यालयका प्रमुखलाई भारतीय अवैध चिट्ठाको विषयमा जानकारी नभए पनि वडा प्रहरीका अन्य प्रहरीहरूलाई अझ साधा पोसाकका प्रहरीलाई भारतीय चिट्ठाको विषयमा विगत वर्तमान भविष्य समेत सबै थाहा छ । उनीहरूलाई कहाँबाट, कसरी, कतिखेर, कसले, कति ल्याउँछ र कहाँ–कहाँ बिक्री वितरण गर्छ सबै थाहा छ । त्यसैले त भारतीय चिट्ठा बिक्रेताहरू खुलेआम भन्छन्–‘हाम्रो पुलिस र सशस्त्रमा सेटिङ्ग छ । साधा पोसाकलाई महिनावारी दिनुपर्छ, डिउटीमा रहेकालाई यसो खाजा खर्च दिए हुन्छ’
 वर्षौँदेखि भारतीय चिट्ठा नेपालमा बिक्री गर्दै आएका भारतीय नागरिक नाम नबताउने सर्तमा भन्छन्–‘भद्रपुरको अहिलेको ठानेदार राम्रो छ । पहिलेका ठानेदारहरूले धेरै दुःख दिएको थियो । अहिले हामीलाई त्यति खोजखबर हुँदैन । गस्तीमा आउने अनि साधा पोसाकले भेटे भने बियर खुवाउन भन्छ खुवाइदियो भइहाल्छ ।’
अर्का चिट्ठा बिक्री गर्ने भारतीय नागरिक भन्छन्–‘हाम्रोमा चिट्ठा बिक्री गर्ने धेरै छन् । यता नेपालमा आएर मात्र बिक्री गर्ने झन्डै एक दर्जन होला । भद्रपुर चन्द्रगढीमा मात्र दैनिक लगभग नेपाली ३ लाखसम्मको चिट्ठा बिक्री हुन्छ  होला । कति त उतै गएर किनेर ल्याउँछन् । जे होस् प्रहरी प्रशासन सेटिङ्गमा छ भन्नु पर्छ ।’ 
अझ पछिल्लो समय भारु ६ रुपैयाँ पर्ने  चिट्ठा नेपाली १२ रुपैंयामा बिक्री गर्ने गरेको छ ।  भारु ६ को ९ रुपैंया ६० पैसा हुन्छ । त्यसमै पनि चिट्ठा बिक्री गर्नेलाई प्रति पन्ना १ रुपैंया भारु कमिसन पाउँछ । क्यारियर खर्च र प्रहरीलाई प्रति पन्ना २ रुपैंयाको हिसाबले बुझाउनु पर्ने भएकोले नेपाली १२ रुपैंयामा बिक्री गर्नु परेको वडा प्रहरी कार्यालय अगाडी नै पसल राखेर चिट्ठा बिक्री गर्ने गरेका एक व्यक्ति बताउँछन् ।
विगत वर्षहरूमा सीमा क्षेत्रमा कडाइका साथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले चिट्ठा कारोबारीलाई निगरानी  बढाएका थिए । आधा दर्जन भन्दा बढीलाई चिट्ठाका साथ पक्राउ गरेको थियो ।  प्रहरीको निगरानी बढेसँगै भारतबाट खुलेआम रुपमा चिट्ठा बिक्री गर्न भारतबाट नेपाल नआए पनि नेपालका चिट्ठामा लत बसिसकेकाहरूको अनुरोधमा  लुकाई छिपाई भारतीय चिट्ठा नेपाल भित्रने गरेको थियो । तर अहिले भने अवैध भारतीय चिट्ठा खुलेआम नेपाल भित्रने गरेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी भने बेखबर बनेका छन् ।
ऐनमा के छ ?
चिट्ठा ऐन, २०२५ को दफा: २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिट्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाउँदैनन् । कुनै चिट्ठा खोल्न, छाप्न वा प्रकाशित गर्न, कुनै चिट्ठा बिक्री वितरण गर्ने वा बिक्री वितरण वा विज्ञापनको लागि दिने, कुनै चिट्ठा सम्बन्धी विज्ञापन छाप्ने, प्रकाशित वा बिक्री वितरण गर्ने वा सो कामको लागि आफू साथ राख्ने, नेपाल सरकारले तोकी दिएकोमा बाहेक विदेशी मुलुकबाट कुनै चिट्ठा वा त्यस्तो विज्ञापन नेपाल अधिराज्यभित्र बिक्री वितरणको लागि ल्याउने वा झिकाउने वा बिक्री वितरण गर्ने वा त्यसरी ल्याई बिक्री वितरण भएको चिट्ठाबाट प्राप्त भएको आम्दानी वा त्यस्तो चिट्ठाको बिक्री वितरण सम्बन्धी कुनै लगत नेपाल अधिराज्य बाहिर पठाउने वा चिट्ठा सम्बन्धी काम गर्नको लागि कुनै घर जग्गा प्रयोग गर्ने वा प्रयोगमा दिनेलाई निजको बिगो जफत भई बिगो बमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनेछ । भन्ने चिट्ठा ऐनमा प्रस्ट व्यवस्था छ । 
 अहिले पनि मुख्य गरी झापाको सदरमुकाम भद्रपुर र चन्द्रगढीमा बढी मात्रामा भारतीय  चिट्ठा खरिद बिक्री हुने गरेको छ । भद्रपुरको मोहपाला धर्मशाला आसपास, नगरपालिका कार्यालय आसपास, कामेश्वर मार्केट, दृष्टि आँखा अस्पताल आसपास, संगमचौक, भद्रपुर तथा वडा प्रहरी कार्यालय आसपास, देवीवस्ती, मेची किनार लगायतका ठाउँलाई केन्द्रीकृत बनाएर भारतीय चिट्ठा खरिद बिक्री हुने गरेको श्रोतको दाबी छ । श्रोत भन्छ–‘ पक्राउ परेका व्यक्तिहरू क्यारियर मात्र हुन्, खेल्नेहरू यही नेपालमै प्रशस्त छन्, उनीहरूलाई प्रहरीले छुन पनि सक्दैन । पक्राउ परेकाहरू नेपाली उखान– धान खाने मुसो, चोट पाउने भ्यागुतो जस्तो मात्र भएको हो । भद्रपुरमा भारतीय चिट्ठा खेल्ने गिरोह नै छ, उनीहरू पानी माथिको ओभानो भएर बसेका छन् । उनीहरूलाई पक्राउ गरी कानुनी  कारबाही नगरेसम्म भद्रपुरमा भारतीय चिट्ठाको धन्दा बन्द हुँदैन ।’
भारतबाट दैनिक ज्याला मजदुरीमा नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागू औषध बिक्री गर्न आउने, पोके तस्करीमा संलग्न हुने लगायतले भारतीय चिट्ठा नेपाल भित्र्याउने र यहाँका केही उचन्ते पेसामा संलग्न व्यक्तिहरूले खरिद गरी समूह बनाएर वा एक्लै दैनिक तीन समयकै चिट्ठा खेल्ने गरेका छन् । भारतबाट चिट्ठा बेच्न आउने एक भारतीयका अनुसार भद्रपुर चन्द्रगढीबाट मात्रै दैनिक ३ लाख भन्दा बढीको चिट्ठा खरिद गरिने गरेको छ । उनले भने–‘हामीलाई अग्रिम अर्डर गरेर मगाउँछन् यहाँका व्यक्तिहरू, हामीलाई पनि नेपालमा बिक्री गर्ने अधिकार छैन । चिट्ठा परिहाल्यो भने पनि भारतकै देवीगञ्ज, खोरीवारि लगायत भारतकै ठेगाना देखाएर चिट्ठाको रकम लिने गरिएको छ । हामी त चिट्ठा बिक्रेता हौँ, जति धेरै बिक्री गर्न सक्यो उति बढी कमिसन आउँछ, र बेचेको चिट्ठामा परिहाल्यो भने थप  कमिसन आउँछ ।’
पहिला ५ लाख पर्ने चिट्ठा, १० लाख, २५ लाख हुँदै ५० लाखबाट अहिले  १ करोड पर्ने बनाइएको छ । कहिले काहीँ १÷२ जनालाई सामान्य रकम परेजस्तो भएपछि आकर्षित हुँदै गएको भारतीय चिट्ठाप्रति लत प्रहरी प्रशासनको मौनताका कारण पनि भद्रपुरमा खुलेआम खरिद बिक्री बढेको हो । भारतबाट बिक्री गर्न आउने, क्यारियर गर्ने मात्र हैन यहाँ बसेर खेल्नेलाई पनि कारबाहीको दायरामा जबसम्म ल्याइन्न तबसम्म भद्रपुरमा भारतीय चिट्ठाको कारोबार बन्द हुँदैन । 

सम्बन्धित समाचार