२०८३ बैशाख २३ गते , बुधबार

अनलाइन सेवासहित बिर्तामोडमा मिट मार्ट सञ्चालनको तयारी

sajilo news
पार्थ मण्डल
२०७८ पौष १५ गते , विहीबार
अनलाइन सेवासहित बिर्तामोडमा मिट मार्ट सञ्चालनको तयारी
बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तर र मापदण्ड अनुसारको सामु पसल सञ्चालनमा आउने भएको छ । स्वास्थ्यकर मासु उपलब्ध गराउने उद्देश्यका साथ झापाको बिर्तामोड अन्नपूर्ण टोलमा भाउजू मिट मार्ट प्रालि सञ्चालनमा आएको हो । मार्टले बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर पुस १७ गतेदेखि औपचारिक रुपमा सञ्चालन हुने जनाएको हो ।

बिर्तामोड बजार क्षेत्रमा व्यवस्थित, सुरक्षित, संरक्षित मासु बिक्री केन्द्रको आवश्यकतालाई ध्यानमा राखेर सफा, ताजा मासु बिक्रीमा ल्याइएको मार्टका सञ्चालक विष्णु खरेलले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । मार्टको सञ्चालकमा रेखा कार्की रिजाल, पल्मु शेर्पा निरौला, देवीकुमारी ढकाल र हिमा दंगाल रहेका छन् । त्यस्तै प्रबन्ध निर्देशकमा विष्णु खरेल, अनुप निरौला, अभिचन्द्र रिजाल र राजेन्द्र अकौलिया रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मार्टले महिला उद्यमी समूहले सञ्चालन गरेको इलामको देवभूमि बहुउद्देश्यीय कृषि फार्म र झापाको पूर्वी किरण कृषि फार्मसँगको सहकार्यमा प्रालि सञ्चालनमा ल्याएका हुन् ।
आफ्नै फार्म तथा अन्य उद्यमीहरूले उत्पादन गरेका गुणस्तरीय पशुपन्छी तथा कृषि उत्पादनको सहज बिक्री वितरणका लागि मार्टको स्थापना गरिएको सञ्चालकहरूले बताएका छन् ।

आधुनिक प्रविधि र औजारको प्रयोग गरी स्वास्थ्य परीक्षण गरिएका शुद्ध मासु सुद्धिकरण गरी उपभोक्तालाई प्रदान गरिने कार्यक्रममा जानकारी दिइएको छ । नेपाल सरकारले तोकेका मापदण्ड अनुसारको मिट मार्ट सञ्चालन गरिने प्रबन्ध निर्देशक खरेलले बताए ।
मार्ट सञ्चालनका लागि ८०० वर्ग फिटमा पशुपक्षी वधशाला र करिब १३०० वर्ग फिटलाई खण्डीकृत गरी विभिन्न मासुहरूको बिक्री कक्षसहितको मिट मार्ट सञ्चालनमा आएको छ ।

मार्टमा खसी, बोका, भेडा, च्याङ्ग्रा, बँदेल, लोकल कुखुरा, बोइलर, टर्की, अस्ट्रिज, कालिज, हाँस, बट्टाई, लौकाट, कडकनाथ कुखुरा, कमन कार्प, माछा, लोकल कुखुराको अण्डा, बट्टाईको अण्डालगायतका माछा मासु उपलब्ध हुने प्रबन्ध निर्देशक मध्येका अनुप निरौलाले जानकारी दिए ।

मार्टमा मासु खरिद गर्ने उपभोक्तालाई अन्य मासु पसल भन्दा सफा र ताजा साथै सस्तो मूल्यमा उपलब्ध गराउने उनले बताए । हाल एक करोडको लगानीमा सञ्चालनमा आएको मार्टमा  २१ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताइएको छ । मार्टसहित फार्म गरेर करिब १० करोड लगानी रहेको सञ्चालकहरूले बताएका छन् ।

सम्बन्धित समाचार