२०७८ माघ ५ गते , बुधवार

झापाका राउत एक वर्षदेखि कतार जेलमा, परिवार बिचल्लीमा, स्वदेश फर्काइदिन अपिल

झापाका राउत एक वर्षदेखि कतार जेलमा, परिवार बिचल्लीमा, स्वदेश फर्काइदिन अपिल :: Times of Pradesh

(पार्थ मण्डल) झापा । विदेशमा रगत पसिना बगाएर कमाउला, त्यसपछि स्वदेश फर्किएर परिवारलाई सुख दिउला भन्ने सपना बोकेर कतारमा पुगेका झापाको कनकाई नगरपालिका–४ स्थित त्रिवेणी टोलका ३० वर्षीय सुवास राउत कतार जेलमा छन् ।

साथीको हत्या आरोपमा विगत एक वर्षदेखि कतारमा जेल जीवन बिताइरहेका राउतलाई नेपाल फर्काइन दिन उनका श्रीमती कुमारी राउतले सरकारसमक्ष अपिल गरेकी छिन् । आर्थिक अवस्था कमजोर रहेका राउत परिवारका कमाउने घरमुली नै अनाहक विदेशी जेलमा परेपछि यतिबेला उनका परिवार बिचल्लीमा परेका छन् । श्रीमान् जेलमा परेपछि श्रीमती ज्यामी काम गरेर आफ्ना दुई छोराछोरी र ससुरा पाल्दै आएकी छिन् । 

श्रीमती कुमारीले गहभरि आशु झार्दै आफ्नो श्रीमान् निर्दोष रहेको बताउँछिन् । राउत गत वर्ष मङ्सिरमा आफ्नै कोठामा बस्ने नेपाली साथीको हत्या आरोपमा जेल परेका हुन् । राउतमाथि खोटाङ जिल्ला ऐसेलुखर्क महेश्वरी गाउँका लामाकाजी राईको हत्या आरोप लागेको छ । 


कुमारीले भनिन्, ‘श्रीमान् डियुटी सकेर कोठामा जाँदा उनको साथीमाथि अरूले नै छुरा प्रहार गरेर घाइते बनाएर भागेका थिए ।’ ‘साथीलाई बचाउन सकिन्छ कि भनेर उहाँले रगत बग्न नदिनका लागि घरेलु उपचार अपनाएर पट्टी बाँध्नु भयो, त्यसपछि उहाँले होहल्ला गरेर अरूलाई कोठामा बोलाउँदा उल्टै कतार पुलिसले श्रीमानलाई समातेर लग्यो,’ उनले भनिन् । यो कुरा जेल परेको ११ महिनापछि श्रीमानले फोन सम्पर्क गरेर सुनाएको उनले बताइन् । ऋण लिएर श्रीमानलाई विदेश पठाएको बताउँदै उनले भनिन्, ‘श्रीमान् जेलमा छन्, पैसा पठाउने त कुरै भएन, अब लिएको ऋण तिर्नु की परिवार पाल्नु ।’ ‘श्रीमान् निर्दोष भएकोले उहाँलाई जेलबाट रिहा गराइदिन सबैमा आग्रह गर्दछु,’ उनले भनिन् । 

राउत र उनका साथी राईबिच राम्रो सम्बन्ध भएको र दुवै जना एउटै कोठा मिलेर बस्ने गरेका थिए । उनीहरू घरमा पालैपालो फोन गरिरहने सुन्नमा आएकोले यतिको मिल्ने साथीले एक अर्काको हत्या गर्न नसक्ने दुवै परिवारको विश्वस्त रहेको स्थानीय जानकार युगल दवाडीले बताए । 

तर, घटनास्थलबाट प्रहरीले राउतको फिंगर प्रिन्टको प्रमाणको आधारमा पक्राउ गरी कतारी जेलमा चलान गरेको बुझिएको उनको भनाई छ । हाल कतार अदालतले राउतलाई कम्तीमा तीन वर्ष जेल सजाय र त्यसपछि २ लाख ५० हजार कतारी रियाल करिब ९० लाख नेपाली रुपैयाँ ब्लड मणि तोकिदिएको छ । सो बुझाउन नसके आजीवन सजाय वा फाँसी कुर्नुको विकल्प छैन । 

‘राउत भाइ गाउँघरमा निक्कै सोझो र शालीन व्यवहारको, धेरै लेखपढ नगरेको, गाउँमा पनि झैझगडा नगर्ने केटो हो,’ दवाडीले भने, ‘विदेशमा पैसा कमाउन गएका राउत हत्या आरोपमा फस्यो, कुरा बुझ्दै जाँदा उनी निर्दोष रहेकोले उनलाई छुट्टाउन हामी सबै लाग्नु पर्छ ।’ हामीले सुवास राउत बचाउ अभियानका सञ्चालन गरिरहेको उनको भनाई छ । 

यता मृतक राई परिवारको अवस्था कमजोर रहेको र १५ लाखसम्म क्षतिपूर्ति बुझाएमा सरकारको रोहवरमा राउतलाई नेपाल झिकाउने सकिने एउटा आधार छ । तर, राउत परिवारसँग क्षतिपूर्तिको रकम बुझाउने सामर्थ्य नभएको र सो रकम जुटाउन आर्थिक सङ्कलन अभियान थालेको कनकाई ४ नम्बर वडा सदस्य रोशन सुवेदीले बताए । १५ लाख रुपैयाँ उठाउन समस्या भइरहेको बताउँदै उनले भने, ‘राउतलाई जेलमुक्त बनाएर नेपाल फर्काउनका लागि स्वदेश तथा विदेशमा रहेका आम जनसमुदायले पनि सहयोग गरिदिनु पर्ने हुन्छ ।’ 




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment