२०८३ भाद्र १३ गते , शनिबार

इलाममा ट्याक्टर दुर्घटना : एकको मृत्यु, तीन जनाको उद्धार

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २८ गते , मंगलबार
इलाममा ट्याक्टर दुर्घटना : एकको मृत्यु, तीन जनाको उद्धार
झापा । इलामको माईजोगमाई गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गाउँपालिका ४ स्थित गैरीगाउँमा मे १ त ११७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय ५४ वर्षीय पूर्ण घलेको घटनास्थलमा नै मृत्यु भएको हो ।
पराल बोकेको ट्याक्टर खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । लासको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि इलाम अस्पताल ल्याइएको इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ । त्यसैगरी सूर्योदय नगरपालिका–६ तारगाउँमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

हर्कटेबाट रम्भ्याङ तर्फ जाँदै गरेको मे १ त ७९८९ नम्बर ट्याक्टर भिरबाट खस्दा ट्याक्टरमा सवार होमबहादुर भुजेल, भीम बहादुर खड्का र ठाकुर भुजेल घाइते भएका छन् । करिब ४ घण्टाको स्थानीय र प्रहरीको प्रयासले पनि ट्याक्टर चेपिएका उनीहरूको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । होमबहादुर सामान्य उपचारपछि घर फर्किएका छन् । अन्य २ जनाको बिएन्डसी अस्पताल झापामा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार