२०८३ बैशाख २३ गते , बुधबार

पूर्वाञ्चल क्यान्सर अस्पतालमा पाठेघरको निःशुल्क जाँच, ३ महिनामा १७ हजार बढीको जाँच

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १७ गते , शुक्रबार
पूर्वाञ्चल क्यान्सर अस्पतालमा पाठेघरको निःशुल्क जाँच, ३ महिनामा १७ हजार बढीको जाँच
झापा । पूर्वाञ्चल क्यान्सर अस्पतालले गत भदौ महिनादेखि महिलाको पाठेघरको निःशुल्क जाँच गरिरहेको छ । बितेको तीन महिनामा अस्पतालले १७ हजार ८ सय ४२ जनाको जाँच गरेको जानकारी दिएको छ ।

महिलाको पाठेघरमा क्यान्सर भए नभएको पत्ता लगाउन अस्पतालले पाठेघरको निःशुल्क स्कृनिङ्ग गर्दै आएको छ । बिहीबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा सो कार्यक्रम थप गर्दै देशभरका महिलालाई सेवा प्रदान गर्ने कार्यकारी निर्देशक दुर्गा प्रसाईँले जानकारी दिए । उनले क्यान्सरको दोस्रो स्टेप पुगेपछि मात्रै उपचारमा आउने भएकाले बेलैमा जाँच गर्ने व्यवस्था मिलाइएको बताए । प्रसाईँका अनुसार क्यान्सर भए बेलैमा उपचार गर्ने र नभए स्वास्थ्य जीवनका लागि ख्याल गर्ने सल्लाह दिने गरिएको छ । कार्यकारी निर्देशक प्रसाईँले आगामी तीन महिना सो कार्यक्रमलाई निरन्तरता दिदैं स्तनको मेमो ग्राममा २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको जानकारी दिए ।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा कार्यरत डा. प्रियङ्का कटुवालले स्कृनिङमा महिलाको पाठेघरमा पानीको जाँच गरिने बताइन् । पाठेघरको मुख, बच्चा बस्ने ठाउँ, पाइप, अण्डाशय, सानो–ठुलो गालामा समेत जाँच गरिने जानकारी दिइन् । क्यान्सर रोगको उपचार गर्न आउनेहरू समय बितेपछि मात्रै आउने गरेको उनको भनाई छ । उनका अनुसार क्यान्सर लागेको शङ्का भएपछि बाहिरै उपचार गर्ने, अपरेसन गर्ने र बिग्रिएपछि मात्रै अस्पताल आउने गरेका छन् । ३० प्रतिशत बिरामी मात्रै समयमै आउने र बाँकी ७० प्रतिशत बिरामी दोस्रो स्टेप पुगेपछि आउने गरेको बताइन् । उनले शङ्का लाग्ने बित्तिकै उपचारका लागि क्यान्सर अस्पताल नै आउन आग्रह समेत गरेकी छन् ।

क्यान्सर अस्पतालले बच्चाको क्यान्सरको समेत उपचार थालनी गरेको छ । डा. ऋतु लामिछानेले अब १८ वर्षसम्मका बालबालिकाको क्यान्सर उपचारका लागि बाहिर जानु नपर्ने जानकारी दिइन् । रगतको क्यान्सर समेत यही उपचार गछौं, डा. लामिछानेले भनिन् – नेपाली बालबालिकाले नेपाल मै उपचार गर्न पाउने गरी पूर्वाञ्चल क्यान्सर अस्पतालले सेवा थालेको छ ।

सम्बन्धित समाचार