२०७८ मंसीर १३ गते , सोमवार

झापा काँग्रेस : जिल्ला सभापतिमा थेबे र कट्टेल प्यानलबिच कडा प्रतिस्पर्धा

थेबेलाई सिटौलाको र कट्टेललाई शर्माको समर्थन

झापा काँग्रेस : जिल्ला सभापतिमा थेबे र कट्टेल प्यानलबिच कडा प्रतिस्पर्धा :: Times of Pradesh

झापा । झापामा नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन सकिए लगतै जिल्ला महाअधिवेशनको माहौल तातिएको छ ।  काँग्रेस नेता कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको गृह जिल्लामा १४ औं जिल्ला महाअधिवेशनमा दुई वटा प्यानलका उम्मेदवार चुनावी मैदान उत्रिएका छन् । दुवै प्यानल चुनावी मैदानमा उत्रिएपछि कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

नेता सिटौला र प्रवक्ता शर्मा समर्थनका दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएपछि अहिले उम्मेदवारहरू पार्टीभित्रै मत तानातानमा जुटेका छन् ।  नेता सिटौला समर्थनका देउकुमार थेबे र प्रवक्ता शर्मा समर्थनका राम कट्टेल जिल्ला सभापति पदमा उठेका छन् । थेबे पूर्व जिल्ला उपसभापति हुन भने कट्टेल वर्तमान उपसभापति हुन । 

देउकुमार थेबे जिताऊ अभियानको सचिवालयले थेबे प्यानलका पदाधिकारीहरूको नामावली बुधवार बिर्तामोड पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।  सभापति पदका उम्मेदवार थेबेको प्यानलमा उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवमा कृष्ण हुमागाईँ र नवीन बिमली , सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारी उम्मेदवार रहेका छन् । आफ्नो टिम समावेशी र जुझारु भएको बताउँदै थेबेले  आफू सभापतिका उम्मेदवार क्षेत्र नम्बर ४, उपसभापति भट्टराई क्षेत्र नम्बर ५ , उपसभापति पाण्डे क्षेत्र नम्बर १ , सचिव हुमागाईँ क्षेत्र नम्बर २ , सचिव बिमली क्षेत्र नम्बर ३ , सहसचिव राजवंशी क्षेत्र नम्बर ३ र अर्का सहसचिवका उम्मेदवार भण्डारी क्षेत्र नम्बर ४ बाट रहेको जानकारी दिए ।  उम्मेदवार थेबेले १३ औं महाधिवेशनमा भएको भद्र सहमतिका आधारमा अग्रज नेताहरूको समर्थनमा आफ्नो साझा र सहमतिको उम्मेदवारी भएको बताए ।

यता प्रवक्ता शर्मा समर्थनका सभापति उम्मेदवार कट्टेलले पनि आजै  प्यानलमा आबद्ध पदाधिकारीहरूको नाम सार्वजनिक गरेका छन् । राम कट्टेल जिताऔँ अभियान सचिवालयले प्रेस विज्ञप्तिमार्फत उपसभापति पदमा केदार शमशेर गिरी र प्रेम सम्बाहाम्फे नाम सार्वजनिक गरेका हुन् । 

त्यस्तै  सचिवमा विश्वदीप लिङदेन र टोम राजवंशी, सहसचिवमा उमाराम प्रसाईँ र पदम लिम्बु उम्मेदवार बन्न लागेको राम कट्टेलको सचिवालयका संयोजक पुष्पराज पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि नै पत्रकार सम्मेलन गरी राम कट्टेलको सचिवालयले कट्टेलको पक्षमा बहुसङ्ख्यक कार्यकर्ता देखिन थाले पछि देउमान थेबे पक्षका नेताहरूले हुँदै नभएको सहमति भएको भनी भ्रम फैलाएको आरोप लगाइसकेको छ  ।  १३ औं महाधिवेशनताका गरिएको ९ बुँदे सहमति पत्र समेत सार्वजनिक गर्दै काँग्रेसका जिल्ला सचिव प्रेम सम्बाहाम्फेले भने, ‘यो सहमति पत्रमा थेबेलाई भावी सभापति बनाउने कुरा कतै उल्लेख छैन र त्यस्तो कुनै मौखिक सहमति पनि त्यो बेला भएको छैन ।’

‘सहमतिमा ‘थेबेको राजनीतिक भूमिकालाई सम्बद्र्धन गर्ने’ उल्लेख भए बमोजिम पार्टीको भातृ संस्था समन्वय विभाग प्रमुख बनाएको र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार समेत बनाएको हो,’ सम्बाहाम्फेले भनेका थिए । यता प्रवक्ता शर्माले पनि आफू जिल्ला सभापतिमा कट्टेललाई मतदान गर्ने सार्वजनिक रूपमै आव्हान गरिसकेका छन् । 

काँग्रेस झापाको नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) उम्मेदवारी दर्ता र मङ्सिर १० गते भोलि शुक्रबार मतदान हुँदैछ । जिल्ला अधिवेशनमा ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरूले मतदान गर्ने छन् ।




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment