२०७८ मंसीर १२ गते , आईतवार

डाँका मुद्दाको सजायबाट बच्न मृत्यु दर्ता प्रमाणपत्र

डाँका मुद्दाको सजायबाट बच्न मृत्यु दर्ता प्रमाणपत्र :: Times of Pradesh
झापा । डाँका मुद्दामा ६ वर्ष कैद सजाय पाई फरार रहेका सुनसरी इनरुवाका एक अभियुक्तले सजायबाट बच्नका लागि मृत्यु दर्ता प्रमाण पत्र बनाएको प्रहरीले प्रमाण फेला पारेको छ ।
सुनसरी इनरुवा नगरपालिका–७ ९साबिक चाँदबेला गाविस–१० का अजित मियाँले स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट मृत्यु दर्ता प्रमाण–पत्र बनाएको प्रहरीले प्रमाण फेला पारेको हो । २०६८ सालमा उनीसहित तीन जनाको समूह डकैत गरी फरार रहेको थियो ।
सुनसरी जिल्ला अदालतले उनको नाममा २०७५ असार ११ गते ६ वर्ष कैद र ९९ हजार रुपैयाँ जरिबाना तोकेको थियो । यसबिचमा स्थानीय पञ्जिकाधिकारीबाट मृत्यु दर्ताको प्रमाण–पत्र बनाइसकेकाले पक्राउ गर्न प्रहरीलाई हम्मे परेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तीनैजनालाई जनही ६ वर्ष कैद र ९९ हजार रुपैयाँ जरिबाना गर्ने गरी फैसला गरेको थियो । तर, तीनै जना फरार रहेका थिए । मियाँ सोमबार अपराह्न पक्राउ परेका हुन् । उनको समूहले रामधुनी नगरपालिका–५ का जैयसकुमार साहको घरमा डकैत गरेको थियो । साहले उनीहरू विरुद्ध उजुरी दिए पश्चात अदालतले फैसला सुनाएको थियो ।

उक्त घटनाबाट आफूलाई सुरक्षित राख्नका लागि उनले २०७४ पुस २७ गते मृत्यु दर्ताको प्रमाण–पत्र बनाएका थिए । प्रहरीले उनलाई पटक–पटक पक्राउ गर्ने प्रयास गरेको थियो तर, अजितको मृत्यु भइसकेको र आफू अजितको भाइ अजिज भनी चिनाउँदै आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी नरेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘उसको पनि नाम मिल्छ, बुबाको पनि नाम मिल्छ, अनि बनेको छ, मृत्यु दर्ता प्रमाण–पत्र’ डिएसपी कार्कीले भने, ‘यो बनाएपछि जोगिइहालिन्छ भन्ने हो, पहिलादेखि नै खेदिरहेका थियौँ । घरका मान्छेहरूले त्यो मरिसक्यो । मरिसकेको भनेपछि आधार प्रमाण खोज्दा यस्तो भेटियो ।’ घटनाका अर्का अभियुक्त लुचाई शर्मा खत्वेले नै उनी अजित भएको सनाखत गरेपछि प्रहरीले सहज रूपमा उनलाई पक्राउ गरेको हो ।


टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment