२०८३ बैशाख ३ गते , विहीबार

राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त, तीन मन्त्रीले पनि लिए शपथ

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ११ गते , विहीबार
राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त, तीन मन्त्रीले पनि लिए शपथ

हेटौंडा । नेकपा (एकीकृत समाजवादी)  प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।  प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ बमोजिम पाण्डेलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् ।

पार्टी विभाजनपछि अल्पमतमा परेकी शाक्यले संसदमा विश्वासको मत नपाउने भएपछि राजीनामा दिएकी थिइन् । शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले आज बिहीबार दिउँसो ३ बजेसम्म बहुमत पुर्‍याएर सरकार गठनको लागि दाबी गर्न आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले दिएको समयमा पाण्डेबाहेक अरुको दाबी नपरेपछि उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । पाण्डे प्रदेशमा रहेको ४ दलीय गठबन्धनबाट सरकारको नेतृत्व गर्न पुगेका हुन् ।

उनलाई नेकपा माओवादी केन्द्रका २३, काङ्ग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टी जसपाका १ गरि ५९ सांसदको समर्थन छ । पाण्डेले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्। त्यस्तै नेकपा माओवादी केन्द्र प्रदेशसभा संसदीय दलकी उपनेता कुमारी मोक्तान, कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्ण खनाल मन्त्री नियुक्त भएका हुन्। 

मोक्तानलाई सामाजिक विकास, भँडेललाई भौतिक पूर्वाधार विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनीहरुले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

सम्बन्धित समाचार