क्यान्सर पीडित पवित्र मण्डललाई बचाइदिन अपील
भद्रपुर । भद्रपुर नगरपालिका- ६ निवासी ६२ वर्षीय पवित्र मण्डल प्रोस्टेट क्यान्सरबाट पीडित भएपछि उपचार गर्न रकम अभावले छटपटाइरहेका छन् । आर्थिक अवस्था अत्यन्त दयनीय रहेका मण्डललाई पूर्वाञ्चल क्यान्सर अस्पतालले प्रोस्टेट क्यान्सर भएको पुष्टि गरेपछि थप उपचारमा लाग्ने खर्च अभाव देखिएको हो ।
ज्यालादारी गरेर वृद्ध बाबुआमा सहित परिवारको दायित्व समेत बहन गरिरहेका मण्डल आफै क्यान्सरको रोगी भएपछि परिवार चलाउन समेत कठिन भएको पीडित परिवारले दुखेसो पोखेका छन् ।
मण्डल बचाउ अभियानमा लागेका भद्रपुर ६ का राजा मण्डलका अनुसार पवित्रको प्रोस्टेट क्यान्सर दोस्रो चरणमा प्रवेश गरेकाले किमोथेरापीको माध्यमबाट उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । जसका लागि लाखौँ खर्च हुने भएपछि पवित्र अस्पतालमा रकम अभावले जान सकिरहेका छैनन् । यता उनको उपचारका लागि नेपाल बङ्गाली समाज र बङ्गाली युवा क्वल भद्रपुरले आर्थिक सङ्कलन गर्ने अभियानमा जुटेको बताइएको छ ।