२०७८ मंसीर १३ गते , सोमवार

२० महिनापछि भद्रपुर–गलगलिया सीमा खुल्यो, खोप कार्ड र परिचयपत्र अनिवार्य

२० महिनापछि भद्रपुर–गलगलिया सीमा खुल्यो, खोप कार्ड र परिचयपत्र अनिवार्य :: Times of Pradesh

(पार्थ मण्डल) झापा । झापाको भद्रपुर–गलगलिया सीमा नाका करिब २० महिनापछि आजदेखि सहज भएको छ ।  कोरोना भाइरस (कोभिड– १९) महामारीले लामो समयदेखि बन्द राखिएको भद्रपुर–गलगलिया सीमा नेपाल सरकारले एक महिनाअघि खुला गर्ने निर्णय गरेको थियो । तर, सीमामा तैनाथ भारतीय एसएसबीले माथिको आदेश नआएको भन्दै सो सीमा नाका बन्द राखेका थिए । भारतीय एसएसबीलाई मौखिक आदेश आएपछि बिहीबारदेखि नाका सहज गरेको हो । भारतीय एसएसबीले डबल खोप लगाएका व्यक्तिलाई खोप कार्ड वा ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट र नेपाली नागरिकताको आधारमा भारत प्रवेश गर्ने अनुमति दिएको छ । 

एसएबसीले सीमा हेल्थ डेस्क राखेर पैदलयात्रीलाई मात्र प्रवेश गर्न अनुमति दिएको जनाइएको छ । हाल दुई पाङग्रे र चार पाङग्रे सवारीसाधनलाई प्रवेश गर्न अनुमति नदिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर विभुराज दाहालले जानकारी दिए ।  जिल्ला प्रशासन कार्यालय झापाले गत असोज १५ गते जिल्लाका सबै नाका खोल्ने निर्णय गरेको थियो । असोज १६ गते नै भद्रपुर सीमा नाकामा हेल्थ डेस्क राख्ने भद्रपुर नगरपालिका तयार भइसकेको थियो । 


तर, भारतीय पक्षले नमानेपछि सीमा हेल्थ डेस्क त्यस बेला राखिएन । बिहीबार भारतीय पक्षले नाका सहज बनाएपनि भद्रपुर नगरपालिकाले स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क नराख्दा मेची पुलमा दुवै देशका नागरिकलाई नेपालतर्फका सुरक्षाकर्मीले रोकेर राखेका छन् । हेल्थ डेस्कको राख्ने विषयमा नगरपालिकासँग सहजीकरण भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले जानकारी दिए । 

हेल्थ डेस्क राखे लगतै दुवै देशका नागरिकलाई खोप कार्ड, पिसीआर रिपोर्ट, नागरिकता, मतदाता परिचयपत्र देखाएर आवतजावत गर्ने दिने उनले बताए ।  यता झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नाका सहज भएको बारेमा भर्खरै आफूलाई जानकारी गराइसकेको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले बताए । सीमा हेल्थ डेस्क राख्नका लागि आजै स्वास्थ्यकर्मी पठाएर नाका सहज गरिने उनको भनाई छ । सरकारले भद्रपुर नाकामा ३७ करोड लागतमा मेची पुल बनाएको छ । कोरोना महामारीका कारण लामो समयदेखि सीमा नाका सञ्चालनमा नआउँदा यहाँका जनताले मेची पुलको उपयोग गर्नबाट पनि वञ्चित हुनु परेको थियो । 




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment