२०७८ मंसीर १३ गते , सोमवार

भद्रपुर भन्सारले जग्गा अधिग्रहणमा ढिलासुस्ती गरेको भन्दै सङ्घर्षमा उत्रिए जग्गाधनी

भद्रपुर भन्सारले जग्गा अधिग्रहणमा ढिलासुस्ती गरेको भन्दै सङ्घर्षमा उत्रिए जग्गाधनी :: Times of Pradesh

(पार्थ मण्डल) झापा । भद्रपुर भन्सार कार्यालयले जग्गा अधिग्रहणमा ढिलासुस्ती गरेको भन्दै स्थानीय जग्गाधनीहरू सङ्घर्षमा उत्रिएका छन् । सङ्घर्षमा उत्रिएका स्थानीय जग्गाधनीहरूले मङ्गलवार भन्सार कार्यालय घेराउ गर्दै मुख्य गेटमा तालाबन्दी गरेका थिए ।  भन्सार कार्यालयमा तालाबन्दी गरेपछि सुरक्षाकर्मीले १० मिनेटमै सो ताला खोली दिएका थिए । त्यसपछि भन्सार कार्यालयका प्रमुख प्रमोद पौडेलले चाँडै मुआब्जा वितरण गरी जग्गा अधिग्रहण गर्ने आश्वासन दिएपछि उनीहरू फर्किएका थिए । 

सरकारले जग्गा अधिग्रहण गरी समयमा मुआब्जा नदिँदा हामीहरू मारमा परेको पीडित जग्गाधनीहरूको भनाई छ । उनीहरू भन्छन्, ‘न त बाटोघाटो छ, न त नगरपालिकाले बाटो बनाइदिन्छ, अस्ति भर्खरै डुबानमा परेको पीडा छदैछ ।’ ‘भन्सार अगाडीको सडक अग्लो बनाइदिएको छ, पानी जाने निकास छैन, हिलैहिलोमा बस्नु परेको छ,’ जग्गाधनी निर्मला पाठकले भनिन्, ‘भन्सारले भन्दै आएको छ यहाँ घर नबनाउनुस्, यो जग्गा भन्सार लिन्छ, न त भन्सारले जग्गा लिन्छ, न त घर बनाउन दिन्छ ।’ हामीले सबै कागजपत्र भन्सारलाई बुझाइसकेको बताउँदै स्थानीय जग्गाधनी आशा पण्डितले भनिन्, ‘भन्सार कर्मचारीले हामीलाई भन्छन्, अब प्रक्रिया गयो, अब जग्गा रोक्का भयो, अब छिनोफानो हुन्छ, अब पैसा पाउनुहुन्छ, भनेको पनि डेढ वर्ष भइसक्यो ।’ ‘हामी महिनैपिच्छे जग्गाको विषयमा भन्सार धाइरहेका छौ,’ उनले भनिन्, ‘हामीले जग्गा दिन्छु भनेर भन्सार गएका होइनौँ, भन्सारले लिन्छ भनेर आफै हामी कहाँ आएको हो, कि त तत्काल जग्गाको मुआब्जा दिनुप¥यो वा हाम्रो जग्गा फुकुवा गरिदिनु प¥यो ।’ 

मेची नदीमा पक्की पुल बनेपछि सरकारले २०७५ भदौ १ गतेदेखि भद्रपुर भन्सार कार्यालयको स्तरोन्नति गर्दै मूल भन्सारमा परिणत गरेको छ ।  भद्रपुर मूल भन्सार कार्यालयमा परिणत भएपछि हाल रहेको भन्सार कार्यालयलाई उत्तर पट्टीको स्थानीयको नम्बरी जग्गामा भवन बनाएर कार्यालयमा सार्न सरकारले २०७६ बैशाख १७ गते जग्गा अधिग्रहण गर्न निर्णय गरेको थियो । 

सरकारले निर्णय गरेको झन्डै १५ महिनापछि तत्कालीन झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले जग्गा अधिग्रहण मूल्याङ्कन उपसमिति गठन गरी प्रक्रिया अघि बढाएको थियो । उपसमितिले जग्गाको छनौट गरी स्थानीयको जम्मा १०६ वटा कित्तामा रहेको करिब ९ विगहा जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाएको थियो । 


उपसमितिले जग्गाधनीहरूको कित्ता पहिचान गरी २०७७ साउन २७ गते राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गरी मालपोतमा जग्गा रोक्का राखिदियो ।  तर, सम्बन्धित निकाय र भन्सार कार्यालयले विविध कारण देखाउँदै हालसम्म जग्गाको मुआब्जा वितरण नगरेको र जग्गा समेत मालपोतमा रोक्का राखिदिँदा थुप्रै समस्या भोग्नु परेर सङ्घर्ष उत्रिनु परेको जग्गाधनी मञ्जु मण्डलले बताइन् । ‘कि जग्गा लिनुहोस् वा रोक्का राखिएको जग्गा फुकुवा गरिदिनुहोस्’ उनले भनिन् ।  भन्सार प्रमुख फणीन्द्र खतिवडाले जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको थियो । उनको सरुवा भएपछि २०७७ पुस ३ गते प्रमोद पौडेल आएका हुन् । पौडेल आएपछि हालसम्म जग्गा अधिग्रहणको विषयमा सात पटक बैठक बसिसकेको छ । जग्गा अधिग्रहणको विषयमा विभिन्न निर्णय गरे पनि यसले अझै तीव्रता पाएको छैन । कोभिड कारण जग्गा अधिग्रहण गर्नमा समस्या भएको भन्सार प्रमुख पौडेलले बताए । 

‘नापी कार्यालय प्रमुखको सरुवा भएकोले केही ढिलाइ भएको, जसले गर्दा जग्गाधनीहरू पनि समस्या परेका हुन्,’ उनले भने, ‘नापी प्रमुख आउनु भएको छ, उहाँसँग भेटेर जग्गाको छिनोफानो गरी बैठक बस्ने अन्तिम प्रक्रिया जाने छु ।’ यसका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना पनि सकारात्मक रहेको उनको भनाई छ ।


सो जग्गामा करिब २८ देखि ३० घरका परिवार बसोबास गर्दै आइरहेका छन् । केही जग्गा खेती योग्य रहेको छ । सो जग्गा अधिग्रहणका लागि सरकारले दुई वर्षअघि एक करोड बजेट छुट्टाइसकेको छ ।  जग्गाको मूल्याङ्कन प्रमुख जिल्ला अधिकारीले सरकारी चलनचल्तीको भाउ अनुसार गरेपछि मात्र सरकारले थप बजेट पठाउने बुझिएको छ । तर, अहिलेसम्म जग्गाको मूल्याङ्कन नगरिँदा त्यहाँ बसोबास गर्ने जग्गाधनीहरू अन्यत्र घर बनाएर सर्न पनि पाइरहेको छैन । उनीहरू बर्खामा जसो त्यसो बस्नु पर्ने बाध्यता पनि छ । त्यसैले चाँडो भन्दा चाँडो जग्गा अधिग्रहण गरी उचित मुआब्जा वितरण गरिदिन जग्गाधनीहरूले सरकारसमक्ष जोडदार माग अघि सारेको स्थानीय कारी सहनी बताइन् ।   




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment