२०७८ कार्तीक ८ गते , सोमवार

हिमालय माविमा करोडौं रकम हिनामिना, छानबिन गर्न माओवादीको माग

हिमालय माविमा करोडौं रकम हिनामिना,  छानबिन गर्न माओवादीको माग :: Times of Pradesh
दमक । नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले दमक २ स्थित हिमालय माध्यमिक विद्यालयमा विद्यालय सञ्चालनका क्रममा करोडौँ रकम हिनामिना भएको भन्दै त्यसको सत्य तथ्य छानबिन गरी दोषीउपर कानुनी कारबाही गर्न माग गरेको छ ।
देशकै नमुना विद्यालयको रुपमा तीनै तहका सरकारबाट ठुलो मात्रामा अनुदान पाउँदै आएको उक्त विद्यालयमा भएको आर्थिक हिनामिनाको घटनामा तीन सदस्यीय विद्यालय व्यवस्थापन समितिको प्रत्यक्ष संलग्नता भएको पाटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका नगर सचिव तीर्थराज बस्नेत (शङ्कर) र इन्चार्ज वेदु गौतमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ,–‘ शिक्षाजस्तो संवेदनशील विषयमा यति ठुलो आर्थिक दुरुपयोग हुँदा स्थानीय दमक नगरपालिका र शिक्षा हेर्ने जिम्मा पाएको शिक्षा समिति मौन रहनु खेदजनक छ । यस परिस्थितिमा अभिभावकसहितको विद्यालय व्यवस्थापन समितिको अभावमा यी सबै हिनामिना, दुरुपयोग, अनियमितता भइरहेको हुँदा हाल रहेको विद्यालय व्यवस्थापन समिति खारेज गरी कानुन अनुसारको विद्यालय व्यवस्थापन समिति निर्माण गर्न आग्रह गर्दछौँ ।’


उक्त विद्यालयमा तीन हजार भन्दा बढी आधारभूत वर्गका छोराछोरीहरू अध्ययन गर्दै आइरहेका भए पनि विद्यालयले भने माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनु पर्ने सरकारको नीति भएकोमा, विद्यार्थीहरूबाट मोटो रकम असुल गर्दै आइरहेकाले त्यस्ता कार्य समेत रोक गर्न माग गरेको विज्ञप्तिमा जनाइएको छ ।
हिमाविमा भएको आर्थिक भ्रष्टाचार छानबिन गर्न विषयगत विज्ञसहित नागरिक स्तरको छानबिन समिति बनाउन पनि माग गरिएको सचिव बस्नेतले बताए ।


टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment