प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ
विराटनगर । नेकपा एमालेको विभाजनसँगै अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसदबाट विश्वासको मत नलिई मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले बुधबार साँझ एक समरोहकाबिच शपथ लिएका छन् । संखुवासभाका तुलसी न्यौपाने आर्थिक मामिला तथा योजनामन्त्री र झापाका हिराकुमार थापा भूमि व्यवस्था तथा योजनामन्त्री बनेका छन् ।
सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका हुन । उनीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले पद तथा गोपनियताको शपथ खुवाएका हुन ।
२२ असोजमा अधिवेशन बोलाउने निर्णय
त्यस्तै, मन्त्रिपरिषदको आज बसेको बेठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ। सो बैठकको सुरुवातमै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ। प्रदेशसभामा हाल एमालेका सभामुखसहित ४१ सदस्यमात्र कायम रहेको र अन्य कुनै विपक्षी दलहरुले समर्थन गर्ने सम्भावना नदेखिएकोले उनले विश्वासको मत पाउने सम्भावना छैन। विश्वासको मत पाउने सम्भावना नभए पनि बढीमा २४ दिनका लागि मन्त्री नियुक्तिको तयारीमा मुख्यमन्त्री जुटेका हुन्। प्रदेशसभामा बहुमत सिद्ध गर्न ४७ सांसदको आवश्यकता पर्नेमा अहिले विपक्षी गठबन्धनमा ५० सांसद छन्।
तीन एमाले सांसदले गरे मन्त्री बन्न अस्वीकार
नेकपा एमालेका तीन सांसदले मन्त्री बन्न अस्वीकार गरेका छन्। नेकपा एमाले संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारी र उदयपु्रका सांसद विमल कार्कीले मन्त्री पद अस्वीकार गरेका हुन्। उनीहरू दुवैलाई मुख्यमन्त्री आचार्यले राज्यमन्त्रीको प्रस्ताव गरेका थिए।
राज्यमन्त्री बन्न प्रस्ताव आएकोमा आफैले अस्वीकार गरेको राजभण्डारीले बताए। उनले भने,‘अब अन्य साथीहरु सरकारमा जानुहुन्छ।’ उनले मन्त्री बन्न अस्वीकार गर्नुको कारण भने खुलाएनन्। सांसद कार्कीले पनि आफूलाई राज्यमन्त्री बन्न प्रस्ताव आएकोमा अस्वीकार गरेको जानकारी दिए।
यसैगरी, शेरधन राई नेतृत्वको अघिल्लो सरकारमा उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेका राजकुमार ओझालाई पनि मुख्यमन्त्रीले राज्यमन्त्री बन्न प्रस्ताव गरेका थिए। तर, उनले पनि अस्वीकार गरेको जानकारी दिए। उनले छोटो अबधिको लागि मन्त्री बन्न अस्वीकार गरेको बताए।