२०७८ आश्विन ७ गते , विहीवार

बिर्तामोडका १९५० व्यवसायीलाई खोप लगाइने

बिर्तामोडका १९५० व्यवसायीलाई खोप लगाइने :: Times of Pradesh
बिर्तामोड । कोरोना भाइरस संक्रमणको जोखिम अझै कायमै रहेको तथा चाडपर्व नजिकिएसँगै हुने भिडभाडलाई मध्यनजर गर्दै बिर्तामोड उद्योग वाणिज्य सङ्घले सङ्घमा आबद्ध व्यवसायीहरूलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

सङ्घको पहलमा लगाउन लागिएको भेरोसिल खोपको पहिलो मात्र हो । पूर्वको व्यस्त सहरको रुपमा रहेको बिर्तामोडका ब्यवसायीहरुलाई आगामी असोज २ र ३ गते दुई दिन कोरोना विरुद्धको खोप लगाउने निर्णय भएको बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटीले जानकारी दिए । दुई चरणमा एक हजार ९५० जना व्यवसायीलाई खोप लगाउने कार्यक्रम बनाइएको छ ।

खोप लगाउनका लागि आर्थिक वर्ष २०७७-०७८ र आर्थिक वर्ष २०७८-०७९  मा दर्ता वा नवीकरण भएका उद्योगी व्यवसायीलाई नेपाल सरकारले जारी गरेको परिचय पत्र र पानको फोटोकपी लिएर आएमा सङ्घको रेकर्डमा दर्ता भएकालाई मात्र खोप लगाइने निर्णय भएको सङ्घका प्रवक्ता सञ्जीव घिमिरेले बताए ।
उनले भने–खोप लगाउन पहिला आउनेलाई पहिलो प्राथमिकता दिइन्छ । पहिलो दिन एक हजार र दोस्रो दिन ९५० जनालाई मात्र खोप लगाइन्छ । उनले कसैले अगाडी नै खोप लगाएको र दोस्रो डोजका लागि आए नपाउने उल्लेख गरे । पहिलो चरणको खोप कार्यक्रम भएकाले भ्याक्सिन नलगाउनेहरुले मात्रै यो खोप लगाइने बताए ।

खोप बिर्तामोड नगरपालिकाका स्वास्थ्यकर्मीले लगाइदिने जनाइएको छ । कोरोनाको सङ्क्रमणका कारण लामो समय व्यवसाय बन्द हुँदा समस्यामा परेको भन्दै यसअघि वाणिज्य सङ्घले प्रमुख जिल्ला अधिकारी तथा स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउँदै व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन माग समेत गरेको थियो । सङ्घको कार्यालयमा लगाइने खोप कार्यक्रममा आउँदा भौतिक दुरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिदिन सङ्घका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले आग्रह गरे ।

स्थानीय र प्रदेश सरकारसँग पटक–पटक खोप नलगाइदिन आग्रह गरे पनि व्यवसायीलाई सरकारले प्राथमिकता नदिएपछि बिर्तामोड उद्योग वाणिज्य सङ्घले आफ्नै पहलमा ब्यवसायीहरुलाई खोप लगाउन लागेको हो । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment