२०८३ बैशाख ३ गते , विहीबार

काँग्रेस भद्रपुर नगर सभापति पदमा चौहानको उम्मेदवारी घोषणा

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २७ गते , आईतबार
काँग्रेस भद्रपुर नगर सभापति पदमा चौहानको उम्मेदवारी घोषणा
भद्रपुर ।  नेपाली काँग्रेस भद्रपुर नगर समितिको सभापति पदमा ज्ञानबहादुर चौहानले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल विद्यार्थी सङ्घबाट २०४६ सालको जनआन्दोलनमा सशक्त भूमिका सहित भाग लिएर राजनीति यात्रा सुरु गरेका वर्तमान उपसभापति चौहानले सबै कार्यकर्ताको भावना अनुरूप उम्मेदवारी घोषणा गरेको दाबी समेत गरेका छन् । नेपाली काँग्रेसमा सक्रिय रूपमा काम गरिरहेका चौहान वर्तमान उपसभापति समेत हुन् । राजनीतिमा लागेर लाभको पद समेत नलिएका चौहान काँग्रेस भद्रपुरका सबै नेता कार्यकर्तासँग परिचित रहेका व्यक्ति पनि हुन् ।

नगर काँग्रेसलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने चौहान प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध कार्यकर्ताको पहिचान समेत निर्माण गरेका व्यक्तिमा पर्दछन् । काँग्रेसको १२ औं महाधिवेशनमा साबिक चन्द्रगढी गाउँ उपसभापतिको नेतृत्व सम्हालेका चौहानले १३ औं महाधिवेशनमा भद्रपुर नगर उपसभापति सम्हाल्न पाएको अनुभव समेत राखेका छन् ।

उनले नगर नेतृत्वका लागि निम्न अवधारणा समेत प्रस्तुत गरेका छन् । म नगर पार्टीका आम कार्यकर्ता र शुभेच्छुकको  विकास र उन्नतिको दियो (प्रकाश) मा केही तेल थप्न , पुरानो जीर्ण नगर पार्टी भवनलाई पुनर्निर्माण गरी पार्टीको सबै तहलाई सचिवालय मार्फत नियमित र व्यवस्थित रूपमा लिपिबद्ध गरी अनुशासित रुपमा सङ्गठन सञ्चालन गर्न गर्ने छु ।

सबै तहको आम निर्वाचनमा सर्व सम्मत उम्मेदवार छनौट गर्न विधि र पद्धति मार्फत चयन गरी सबै उम्मेदवारहरूलाई निर्वाचित गराउने वातावरण निर्माण गर्दछु ।  अग्रजहरूको उचित सम्मान गर्दै सहकर्मी र युवाहरूलाई सम्मानित र उचित पदहरूमा व्यवस्थित गराउँदै पार्टी र कार्यकर्ताको  हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु भनेर चौहानले अवधारणा समेत सार्वजनिक गरेका छन् ।
यसअघि नगर सभापति पदका लागि बन्धु कार्की, मदन बस्नेत र भरत प्रसाँईले उम्मेदवारी घोषणा गरिसकेका छन् । हाल सम्म उम्मेदवारी घोषणा गरेको सबै नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् ।

सम्बन्धित समाचार