२०८३ बैशाख ५ गते , शनिबार
झापामा नेकपाको समानान्तर कमिटी एकीकृत समाजवादी पार्टीमा रूपान्तरण
झापा । गत वैशाख ३ गते माधव नेपालको उपस्थितिमा गठन भएको ३५१ सदस्यीय नेकपा एमाले जिल्ला समानान्तर कमिटी झापा नेकपा एकीकृत समाजवादी पार्टीमा रूपान्तरण भएको छ । पार्टीको प्रथम जिल्ला भेलाबाट नेकपा एमाले जिल्ला समानान्तर कमिटीलाई नेकपा एकीकृत समाजवादी पार्टीमा रूपान्तरण गर्ने, सचिवालय गठन र १५ वटै स्थानीय तहमा १० दिन भित्र पार्टीका विभिन्न भातृ सङ्गठन, र मोर्चा गठन गर्ने समेत निर्णय भएको हो ।
झापाको बिर्तामोडमा शुक्रवार पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र १ नम्बर प्रदेश अध्यक्ष घनेन्द्र बस्नेतको आतिथ्यमा भएको कार्यक्रममा झापाका पाँच वटै निर्वाचन क्षेत्रीयमा १५ दिन भित्र क्षेत्रीय कमिटी निर्माण गर्ने , विभिन्न विभागको प्रमुख तोक्नुका साथै त्यस अन्तरगतका सबै विभागलाई पूर्णता दिने निर्णय भएको छ । पार्टीका जिल्ला अध्यक्ष वेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युवा सङ्घका केन्द्रीय सचिव प्रत्युष रानाले गरेका थिए भने सञ्चालन जिल्ला सचिव नीलमणि बरालले गरेका थिए ।