काँकडभिट्टाको मुख्य नाकाबाटै नयाँ शैलीमा पेट्रोलियम पदार्थको तस्करी, भारतीय ट्रकमा बरामद भयो ५५० लिटर डिजेल
पश्चिम बङ्गाल भन्दा झापामा डिजेल ३५ रुपैयाँ सस्तो
(पार्थ मण्डल) झापा । कोरोना महामारीको बेला झापाका सीमा नाकाबाट पेट्रोलियम पदार्थको तस्करी नयाँ शैलीबाट हुने गरेको पाइएको छ । भारतबाट नेपाल आउने मालवाहक सवारीसाधनले छुट्टै टयांकी जडान गरी नेपालबाट पेट्रोलियम पदार्थ भारत लैजाने गरेको घटना सार्वजनिक भएपछि पेट्रोलियम पदार्थको तस्करी गर्ने नयाँ शैली पत्ता लागेको हो । काँकडभिट्टा नाकाबाट सोमबार बिहान ९ बजे नेपाली वस्तु ढुवानीका लागि भारतीय नम्बर प्लेटको डब्लुबी ७४ डी २४४१ नम्बरको खाली मिनी ट्रक नेपाल प्रवेश गरेका थिए । त्यसपछि सो मिनी ट्रक सोजै धुलाबारीतर्फ लागे । सो ट्रकले छुट्टै डिजेलको टयांकी जडान गरेको कसैले सुइँको समेत पाएन ।
धुलाबारीबाट सामान लोड नगरी त्यतिकै फर्किएका सो ट्रकका चालक पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला नक्सालवारिको रथ खोला निवासी ३० वर्षीय विकास दास र सह–चालक सोही ठाउँका ३४ वर्षीय सुजल साहाले मेचीनगर– ६ स्थित पूर्वाञ्चल पेट्रोल पम्पबाट ट्रकमा ५५० लिटर डिजेल हाले । ट्रकमा रहेको डिजेल टयांकी नहालेर उनीहरूले सो डिजेल छुट्टै जडान गरिएको टयांकीमा हालेका थिए । डिजेल हालेर पुनः काँकडभिट्टा नाकाबाट भारत जान लागेका ट्रकलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोली सोमबार दिउँसो २ बजे मेची पुल नजिकै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
‘नियन्त्रणमा लिएर ट्रकलाई चेकजाँच गर्दा ट्रकमा एउटा छुट्टै टयांकी जडान गरेको र सो टयांकीमा ५५० लिटर डिजेल बरामद गरियो,’ डिएसपी थापाले भने । यता ट्रकसहित चालक र सहचालकलाई ७ लाख मूल्याङ्कन तोकेर सोमबार नै मेची भन्सार कार्यालय बुझाइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए । ‘काँकडभिट्टा सीमा नाका पेट्रोलियम पदार्थको यस्तो धन्दा भइरहेको थाहा थिएन, गाडी नियन्त्रणमा लिएपछि घटना बाहिरियो, अब भारतबाट आउने सबै सवारीसाधनमाथि प्रहरीले उच्च निगरानी बढाउछ,’ डिएसपी दाहालले भने ।
पश्चिम बङ्गालमा डिजेलको मूल्य भारतीय ९१ रुपैयाँ ७१ पैसा अर्थात् नेपाली १४६ रुपैयाँ ७३ पैसा पर्छ । झापामा डिजेलको मूल्य १११ रुपैयाँ ५० पैसा पर्छ । पश्चिम बङ्गाल भन्दा झापामा डिजेलको मूल्य ३५ रुपैयाँ ३१ पैसा सस्तो छ । ट्रक चालकले ५५० लिटर डिजेल भारत लगे बापत १९ हजार ३७९ रुपैयाँ कमाउँथे । यसरी दैनिक भारतबाट नेपाल प्रवेश गर्ने भारतीय मालवाहक गाडीले नेपालबाट पेट्रोलियम पदार्थ बोकेर कति औ पटक लगिसकेको होला त्यसो लेखाजोखा नै छैन ।