२०८३ बैशाख ४ गते , शुक्रबार

मिर्गौला पीडित गीताको पक्षमा सर्वोच्चले सुनायाे फैसला, कानुन संशोधनका लागि श्रीमानले हालेका थिए मुद्दा

स्वदेश छाडेर भारत पुगिन् मिर्गौला प्रत्यारोपणका लागि गीता

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १५ गते , मंगलबार
मिर्गौला पीडित गीताको पक्षमा सर्वोच्चले सुनायाे  फैसला, कानुन संशोधनका लागि श्रीमानले हालेका थिए मुद्दा

(पार्थ मण्डल) झापा । सर्वोच्च अदालतले दुवै मिर्गौला पीडित भद्रपुर नगरपालिका–१० की गीता भण्डारीको पक्षमा फैसला सुनाएको छ। नेपालको कानुन बाधक बनेपछि स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्न नपाएर श्रीमती गीतालाई लिएर भारतको दिल्ली पुगेका श्रीमान् देवीचरण भण्डारीले कानुनी व्यवसायीसँग सल्लाह गरी साउन २६ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए।

देशमा मिर्गौला प्रत्यारोपणका लागि बनाइएको कानुनले काका ससुराले मिर्गौला दिन पाउने व्यवस्था नराखेपछि देवीचरणको तर्फबाट अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्चमा मुद्दा हालेका थिए। सर्वोच्चका न्यायाधीशद्वय डा. कुमार चुँडाल र दीपककुमार कार्कीको संयुक्त इजलासले भदौ १३ गते रिट निवेदकको पक्षमा फैसला सुनाएको छ।

फैसलाको पूर्णपाठ एक हप्तापछि आउने जनाइएको छ। श्रीमती गीतालाई लिएर दिल्ली पुगेका देवीचरणले फेसबुक स्ट्याटसमा लेख्दै भनेका छन्, ‘ढिलै भए पनि अदालतबाट न्याय मिलेको छ, यो फैसलाको उपभोग हामीले गर्न नपाए पनि हामी जस्तो दुःख, कष्ट पीडा र तनाव अरूले भोग्न नपर्ने भएको छ। गीता पेसाले वीरेन्द्र उमाविका शिक्षक हुन् भने उनका श्रीमान् देवीचरण निजामती कर्मचारी हुन्। कानुनी अड्चनका कारण स्वदेशमै श्रीमतीको मिर्गौला प्रत्यारोपण गर्न नपाएको कुरा उनले फेसबुकबाटै सार्वजनिक गरेपछि भद्रपुरका वरिष्ठ अधिवक्ता लेखनाथ निरौला उनका परिवारजन भेट्न घर पुगेका थिए।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबाट मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने कारणसहितको पत्र लिन अस्पताल प्रशासनसँग निक्कै रस्साकस्सी भयो,’ उनले फेसबुकमा लेखेका छन्,‘निक्कै रस्साकस्सीपछि अस्पतालले अन्ततः कानुनी अड्चन भएको कारणसहितको पत्र हामीलाई उपलव्ध गरायो। ‘त्यसपछि अधिवक्ता भट्टराईले हाम्रो पक्षबाट मुद्दा लड्नु भयो, यस्तो पीडा र तनावका बीच कानुनी उपचारको प्रयास र पहल गरिदिनु हुने अधिवक्ता निरौला र भट्टराईप्रति कृतज्ञ छु,’ उनले भने।

आठ वर्षअघि गीताको दुवै मिर्गौलामा समस्या देखा परेको थियो। प्रत्यारोपणका लागि उनलाई काका ससुरा नेत्रप्रसाद भण्डारीले एउटा मिर्गौला प्रदान गर्ने जनाए पनि काका ससुराले मिर्गौला दान गर्न नमिल्ने कानुनी व्यवस्थाले दिन पाएनन्। नेपालमा मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भएपछि देवीचरण श्रीमती र काका ससुरालाई लिएर भदौ १४ गते भारतको दिल्ली गएका छन्। दिल्लीस्थित फोर्टिस अस्पताल नोएडामा श्रीमतीको मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको उनले बताए।

मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन–२०५५ अनुसार मिर्गौला ग्रहण गर्ने व्यक्तिले उनका नातामा काकाले दान गर्न पाउने उल्लेख भए पनि काका ससुराले दिन पाउने व्यवस्था छैन। ऐनमा परिवारका सदस्य र नजिकका नातेदारले अङ्ग दान गर्न पाउने व्यवस्था छ। 

सम्बन्धित समाचार