२०७८ आश्विन ७ गते , विहीवार

कोरोना कहरका बिच रक्षाबन्धन : नेपाल–भारत सीमा नाकामै दिदीबहिनीले लगाए दाजुभाइलाई राखी

कोरोना कहरका बिच रक्षाबन्धन : नेपाल–भारत सीमा नाकामै दिदीबहिनीले लगाए दाजुभाइलाई राखी :: Times of Pradesh

(पार्थ मण्डल) झापा । कोरोना भाइरसको महामारीका कारण भद्रपुरस्थित मेची पुलबाट आवतजावत गर्ने सीमा नाका ठप्प छ । विगत १७ महिनादेखि सीमा नाका बन्द भएकोले यसबर्ष भद्रपुरवासी नेपाल–भारतको सीमा क्षेत्रमै पुगेर रक्षा बन्धन पर्व मनाएका छन् । 

यो घटना भद्रपुरवासीका लागि अहिलेसम्मकै नौलोसँगै अनौठो पनि हो । नाका बन्द भएका कारण अघिल्लो वर्ष दिदीबहिनीले दाजुभाइलाई राखी लगाउन पाएका थिएनन् । जस कारण उनीहरू निराश बनेका थिए । तर, यसबर्ष दुवै देशको सुरक्षाकर्मीको समन्वय सीमा नाकामै दिदीबहिनीले दाजुभाइलाई हर्सोउल्लासका साथ राखी लगाएका छन् । राखी बाँध्दा दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । 

मेची पुल पारी प्रहरी विट नजिकै घाँसमै त्रिपाल ओछाएर परिवारका सदस्यहरूले सामूहिकमा रुपमा खुसी साटासाट गर्दै रक्षा बन्धन पर्व मनाएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईले बताए । भारतबाट आउने दिदीबहिनी, दाजुभाइ र नेपालबाट जाने दिदीबहिनी, दाजुभाइलाई भिडभाड हुने नगरी सुरक्षाकर्मीले आलोपालो समय मिलाएर रक्षा बन्धन मनाउन दिएको उनले बताए । 


करिब २ सय ५० बढी नेपाली नागरिकले सीमा नाकामै पुगेर रक्षा बन्धन मनाएको उनको भनाई छ ।  कोरोना महामारीले दुई वर्ष पछि दिदीबहिनीको हातबाट राखी लगाउने पाएको भद्रपुरका युवा मेघु रायाले बताए । ‘पहिला घरमै आएर दिदीबहिनीले राखी लगाउँथे,’ उनले भने, ‘अघिल्लो वर्ष बोर्डर बन्दले कोही आउन पाएनन्, यसबर्ष पनि बोर्डर बन्द छ, तर नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीले सहजीकरण गरिदिँदा राखी लगाउन पाएऔं ।’ 

रक्षा बन्धन मनाउन सीमा पुगेका अधिकांश परिवारका सदस्यहरूको अनुहार हँसिलो देखिएको बताउँदै उनले भने, ‘रक्षा बन्धन मनाउन मेरा परिवारका सदस्यहरू सिलगुढी, ठाकुरगञ्ज र गलगलियाबाट आएको थियो, हामीले खुसी साटासाट गर्दै रक्षा बन्धन मनाएऔं ।’ 


भद्रपुर, हल्दिबारी, चन्द्रगढी लगायतका स्थानीयले सीमा आएर दिदीबहिनीको हातबाट राखी लगाएको स्थानीय विक्रम सहनीले बताए । सीमा नाकामा अहिलेसम्म यस्तो दृश्य आफ्नो जीवनकालमा कहिले नदेखिएको बताउँदै उनले भने, ‘मेरो बहिनी पनि आएको थियो, नाकामै बसेर राखी लगाएऔं ।’ कोरोना महामारीका बिच भारतबाट ठुलो सङ्ख्यामा त्यहाँका नागरिक रक्षा बन्धन मनाउन नेपाल प्रवेश गर्न लागेपछि हामीले सीमा नाकामै रक्षा बन्धन मनाउने व्यवस्था मिलाइदिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका सशस्त्र प्रहरी निरीक्षक विभुराज दाहालले बताए ।  

भारतबाट आउने नागरिकलाई भारतीय एसएसबीले सीमा नाकामा रोकेर आलोपालो पठाएको थियो । रक्षा बन्धन मनाइसकेका नागरिक भारत फर्किएपछि मात्र एसएसबीले अन्य नागरिकलाई नेपाली भूमिसम्म जान अनुमति दिएको उनले बताए । यो क्रममा भद्रपुर सीमा नाकामा आइतबार दिनभरि चलेको थियो ।  




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment