२०८३ बैशाख ४ गते , शुक्रबार

मेची नदीले बर्सेनि बगाउँदै नेपाल–भारत सीमास्तम्भ, हालसम्म १८ वटा स्तम्भमा क्षति

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २७ गते , बुधबार
मेची नदीले बर्सेनि बगाउँदै नेपाल–भारत सीमास्तम्भ, हालसम्म १८ वटा स्तम्भमा क्षति

(पार्थ मण्डल) झापा  । नेपाल–भारतको सीमाबाट बग्ने मेची नदीले बर्षेनि सीमा पिलर बगाउन थालेको छ । मेची नदीले सोमबार दिउँसो ४ बजे झापामा एउटा मुख्य सीमा पिलर बगायो ।

समयमा तटबन्ध गरिएको भए सो सीमा पिलर जोगाउन सकिन्थ्यो– एक स्थानीयले भने । नदीले तटीय क्षेत्रको कटान गर्ने क्रममा दक्षिणी झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा ११२ नम्बर सीमा पिलर बगाएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता तथा डीएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

केही दिनको अविरल वर्षापछि मेची नदीमा पानीको बहाव बढेको छ । मेचीमा पानीको बहाव बढेपछि नदी आसपासमा रहेका दुई दर्जन बढी साना सीमा पिलर पनि डुबानमा परेको डीएसपी भण्डारीले बताए । नदीले तटीय क्षेत्र कटान गर्नेमा क्रममा केही दिनअघि मात्र पिलर नजिकै रहेका रुखहरू बगाएर लगेको थियो । ‘त्यस बेला पिलर मात्र बगाउन बाँकी थियो, अन्ततः नदीले पिलर पनि बगाएर लग्यो– स्थानीय कमल गणेशले भने ।

पिलर बगाएको दक्षिणतर्फ भारतीय बस्ती छ, पूर्वतर्फ नेपाली बस्ती । ‘समयमा तटबन्ध गरिएको भए सीमा पिलरसँगै तटीय क्षेत्रका जमिन जोगाउन सकिन्थ्यो’– उनले भने । मेची नदीले यसरी नै तटीय क्षेत्र कटान गर्दै लैजाने हो भने भारतीय बस्तीसँगै नेपाली बस्ती पनि बगाउने खतरा बढेको भारतीय नागरिक उपेन्द्र साहले बताए । नदीको कटान तीव्र छ, कहिले घर बगाउने हो भन्ने चिन्ता बढेको उनले बताए । ११२ सीमा पिलर नजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पाठामारीले सुरक्षा दिइरहेको छ ।

सशस्त्र प्रहरीको पोष्ट पनि बगाउने अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ । सो सीमा पिलर जोखिममा रहेको भन्ने बारेमा एक बर्ष अघि नै सम्बन्धित निकायमा जानकारी थियो । तर, कोरोना महामारीका कारण त्यसलाई जोगाउन सकिएन ।

सीमा पिलरहरू केही समस्या देखा परेमा नेपाल–भारतको संयुक्त सीमा फिल्ड सर्वे टोलीले संयुक्त रुपमा स्थलगत निरीक्षण गरी त्यसलाई मर्मत सम्भार गर्नुपर्ने दुवै देशको सरकारको नीति छ । कोरोनाले गर्दा विगत डेढ वर्षदेखि झापासँग जोडिएको सीमा पिलरको स्थलगत निरीक्षण हुन नसकेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले बताए ।

हालसम्म १८ वटा पिलरमा क्षति

यस वर्ष मेची नदीले ११२ नम्बर पिलर बगाएसँगै १८ वटा पिलरमा क्षति पुगेको सशस्त्र प्रहरीका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । गत वर्ष मझौला र साना गरी १७ वटा र यस वर्ष एउटा मुख्य पिलरमा क्षति पुगेको हो ।

जिल्लाको १४४।२ किलोमिटर खुला सीमा क्षेत्रमा ८२ देखि १५२ नम्बरसम्मको सीमा पिलर रहेका छन् । अधिकांश सीमा पिलर मेची नदी आसपासमा रहेको छ । गत वर्ष भद्रपुर, कचनकवल, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका क्षेत्रका सीमा पिलरमा क्षति भएको थियो । मुख्य ७० सहित मझौला र साना गरी कूल ९८८ वटा पिलर छन् । त्यसमध्ये १५० वटा पिलर मेची नदी र अन्य खोला आसपास छन् । तीमधध्ये ३५ वटा पिलर उच्च जोखिममा छन् । यसबर्ष डुबानमा परेका पिलरहरूको अनुगमन हुन सकेको छैन ।

बर्खा सकिएपछि मात्र ती पिलरहरूको अवस्था बुझ्न सकिने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । सीमाको पिलर हेर्ने जिम्मा सरकारले नापी विभागका उपसचिव शिव लम्साललाई दिएको छ । ‘अघिल्लो वर्ष क्षति भएका पिलरको विवरण प्रशासन कार्यालयले पठाइसकेको छ’– प्रजिअ तिमिल्सिनाले भने– ‘यस वर्षको विवरण बर्खा सकिएपछि पठाउने छौँ ।’ त्यसपछि दुवै देशका नापी टोली आएर सीमा पिलरको स्थलगत निरीक्षण गर्नेछन् ।

‘दुवै देशका सीमा फिल्ड सर्वे टोलीले जिल्लामा कति वटा पिलर बनाउने हो, कति वटा मर्मत सम्भार गर्ने हो, त्यसको तथ्याङ्क सङ्कलन गर्छ’– प्रजिअ तिमिल्सिनाले भने– ‘त्यसपछि दुवै देशको सहकार्यमा पिलरको काम शुरु हुन्छ ।’ कोभिडका कारण पिलरको काममा ढिलाइ भए पनि आगामी कात्तिक महिनादेखि पिलरको मर्मत सम्भारको काम शुरु हुने उनको भनाइ छ ।

सम्बन्धित समाचार