२०७८ आश्विन ७ गते , विहीवार

भद्रपुर नाका : सीमामा तैनाथ सुरक्षाकर्मीको सेटिङ तस्करी, ९ पोका कपडा बरामद गरेपछि खुल्यो यस्तो रहस्य

भद्रपुर नाका : सीमामा तैनाथ सुरक्षाकर्मीको सेटिङ तस्करी, ९ पोका कपडा बरामद गरेपछि खुल्यो यस्तो रहस्य :: Times of Pradesh

झापा । सीमा नाकामा तैनाथ सुरक्षाकर्मीको सेटिङमा झापाको भद्रपुर नाकाबाट तस्करी हुने गरेको पाइएको छ ।  नेपाल–भारत सीमा नाकामा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी गर्ने कारोबारी र लाइनमेनसँग आपसी सम्झौतामा रकम लिएर लाखौँ मूल्य बराबरको सरसामान भन्सार छलेर रात परेपछि नेपाल भित्राउने गरेको रहस्य खुलेको छ । 
मङ्गलवार बिहान साढे २ बजे १०३ नम्बर पिलर नजिकैबाट भन्सार छलेर नेपाल भित्राएको ९ पोका कपडा सशस्त्र प्रहरी बल नम्बर २ गण हेक्वा झापाबाट खटिएको सादा पोसाकको सशस्त्र प्रहरीले बरामद गरेपछि यस्तो रहस्य खुलेको हो । 
१०३ नम्बर पिलर नजिकैबाट लत्ताकपडा र सुर्तीका बोरा भित्रिरहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीले करिब साढे ४ लाख मूल्य बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर २ गण हेक्वा झापाले जनाएको छ । १०३ नम्बर पिलरबाट भारतीय लाइनमेनहरुले सो कपडा भैँसी फारम हुँदै बगानबाट भित्राउन खोजेका थिए । 
सशस्त्र प्रहरीले नाकामा ढुकेर त्यो सामान बरामद गरेको बताइएको छ । ‘सामान लिन एउटा छोटा हात्ती गाडी ९पिकअप भ्यान० पनि आएको थियो, हामीले बेलैमा सामान समात्दा लैजान पाएन,’ सशस्त्र प्रहरी स्रोतले भन्यो । २५ जना लाइनमेन कपडा र सुर्ती बोकेर आइरहेको जानकारी सशस्त्र प्रहरीलाई आएको थियो । ९ पोका बरामद गरेपछि अन्य सामान भारततर्फ भगाउन उनीहरू सफल भएको बताइएको छ । 
सो सामान भारतीय लाइनमेनहरु गोल भन्ने आरिफ, मजरूल, सानवाज, मुन्नाले ल्याएको हो । त्यो सामान भद्रपुरका कारोबारी तुलाराम, बेचन, थप्पे लगायतको समूहले मगाएको हो । उनीहरूले पनि भद्रपुरमा घर भएका एक बिर्तामोडमा पसल भएका कपडा व्यापारीको लागि सो सामान कमिसन लिने सर्तमा ल्याइदिएको प्रहरी स्रोतको दाबी छ । 
भद्रपुरका ती कारोबारले भद्रपुरमा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रहरी कार्यालय झापाबाट तैनाथ केही सादा पोसाकमा खटिने प्रहरीलाई रकम बाडेको स्रोतको दाबी छ । ती कारोबारीले १० हजारदेखि २५ हजारसम्म लाइन बाडेको स्रोतको दाबी छ । ती समूहका कारोबारीले यसअघि पनि सात पोका कपडा १०३ नम्बर पिलर नजिकैबाट भित्राएको थियो । 
यता बरामद गरिएको रेडिमेट र थान कपडालाई सशस्त्र प्रहरीले ४ लाख ४४ हजार मूल्याङ्कन तोकेर बुधवार बिहान भन्सार कार्यालय बुझाइसकेको छ । भद्रपुर नाकाबाट दिनहुँ भन्सार छलेर सरसामान प्रहरीकै सेटिङमा भित्रिरहेको छ । नाकामा खटिएका सशस्त्र प्रहरी नै तस्करीसँगको साठगाँठमा गर्न थालेपछि पछिल्लो समयमा नाकामा तस्करी मौलाएको हो ।
 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment