२०७८ श्रावण २२ गते , शुक्रवार

भद्रपुर भन्सारमा निर्धारित लक्ष्य पुगेन, २७ करोड ९ लाख राजश्व असुली

भद्रपुर भन्सारमा निर्धारित लक्ष्य पुगेन, २७ करोड ९ लाख राजश्व असुली :: Times of Pradesh

भद्रपुर । भद्रपुर भन्सार कार्यालय झापाले निर्धारित लक्ष्यअनुसार कम राजश्व असुली गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा कोरोना भाइरस सङ्क्रमणका कारण विभागले तोकेको वार्षिक लक्ष्य पुर्‍याउन नसकेको जनाएको छ ।

भन्सारले वार्षिक ३० करोड २१ लाख राजश्व असुली गर्नु पर्नेमा २७ करोड ९ लाख १८ हजार रुपैयाँ मात्र असुली गरेको भद्रपुरका प्रमुख भन्सार अधिकृत प्रमोद पौडेलले जानकारी दिए । कार्यालयको तथ्याङ्क अनुसार भन्सार महसुल बापत रु १३ करोड ५० लाख ४८ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ११ करोड आठ लाख ८६ हजार, कृषि सुधार शुल्क रु एक करोड छ लाख ७६ हजार, भन्सार सेवा दस्तुर रु १८ लाख ४४ हजार ६००, अन्त शुल्कबापत रु ५५ लाख ४६ हजार ५००, अग्रिम आयकर रु ६६ लाख १८ हजार र आकस्मिक लाभकारतर्फ रु तीन लाख दुई हजार राजश्व असुली भएको छ । लक्ष्यको ९० प्रतिशत राजश्व असुली भएको देखिन्छ । 

वैशाख १५ गतेदेखि हालसम्म भन्सार नाका बन्द हुँदा यसको असर राजश्वमा परेको उनले बताए । मेची नदीमा पुल बने पनि भद्रपुर नाकाबाट खाद्यान्न, लत्ताकपडा, माछा, चिया उद्योगका लागि चाहिने औजारलगायत सामग्री मात्र आयात हुँदै आएको उनको भनाइ छ ।दुई वर्ष अघि पुल बने पनि भारतको विहार र पश्चिम बङ्गालतर्फ जोड्ने सडक अभावमा यो नाका भएर मट्टितेलका ट्याङ्कर, सिमेन्टका लागि चाहिने लिङ्कर, कोइलालगायतका सामग्री लिएर ठुला मालवाहक सवारी आउन सकेको छैन ।  



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment