२०७८ श्रावण २१ गते , विहीवार

विपन्नलाई छानो फेर्न लगाएर सरकारले पैसा पठाएन, ऋण काढेर छानो फेरेकाहरु सकसमा

सुरक्षित नागरिक आवास कार्यक्रम

विपन्नलाई छानो फेर्न लगाएर सरकारले पैसा पठाएन, ऋण काढेर छानो फेरेकाहरु सकसमा :: Times of Pradesh

(पार्थ मण्डल) झापा  ७४ वर्षीय सन्चमान राई फुसको छानो फेरेर बर्खाअघि पानी नचुहिने नयाँ घर बनाएर बस्न पाउँछु भन्दै निक्कै खुसी थिए। इलामको रोङ गाउँपालिका–४ ओझेली टोलका राई मनसुन सुरु हुनुअघिनै फुसले बनाएको खरको झुप्रो भत्काएर जस्तापाता र चित्राले बेर्ने योजनाकासाथ काम सुरु गरे। सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत विपन्न तथा असहाय परिवारको पहिचान गरी पराल र खरको छाना घर भएका परिवारलाई ५० हजार दिने भएपछि गाउँपालिकाले उनको नाम छानो फेर्नको सूचीमा दर्ता गरायो।

गाउँपालिकाबाट नयाँ घर बनाएबापत ५० हजार आउने आसमा उनले बस्दै आएको खरको झुप्रो जस्तो घर भत्काए। ऋण काढेर नयाँ घर बनाउने सुरु गरे। अहिले खातामा पैसा नआएपछि उनी निराश बनेका छन्। ‘‘बस्दै आएको झुप्रो भत्काएर घर बनाउन थालियो, तर पैसा पाइएन’ उनले भने, ‘यो बर्खा कसरी कटाउने होला ? गाउँपालिकाले कहिले पैसा दिने हो र घर बनाउला केही अत्तोपत्तो छैन।’ घर बनाउने पैसा माग्दै वृद्ध राई दिनहुँ आफूलाई भेट्न घरमै आइपुग्ने गरेको गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईले बताइन्। कान कम सुन्ने, असहाय राईको पीडा देखेर आफूलाई पनि हिन्ताबोध भइरहेको उपाध्यक्ष राईले बताइन्।

उनलाई गाउँपालिकाले तीन दिन अघि मात्र पहिलो किस्ताबापतको ३० हजार रकम दिएको उनले बताइन्। ‘झुप्रो भत्काएर घर बनाउनुहोस्, सरकारले पैसा दिन्छ भनेपछि उनीसहित सबै विपन्न परिवारले घर बनाउन थाले,’ उनले भनिन्,‘सरकारले पर्याप्त पैसा नपठाउँदा गाउँपालिकामा छानो फेर्ने सबै विपन्न परिवारको अवस्था यस्तै छ।’ रोङ गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर लाप्चाको अवस्था पनि राईकै जस्तो छ। घर बनाउने थप पैसा सरकारले गाउँपालिकालाई नपठाएको जानकारी पाए पछि उनले घरको छानो फेर्ने आट नै गरेका छैनन्।

सोही वडाका ३६ वर्षीय केशर सापकोटाले घरको छानो फेरे। उनले पहिलो किस्ता ३० हजार पाइसके। उनी दोस्रो किस्ता २० हजार माग्दै गाउँपालिका धाइरहेका छन्। सोही वडाका ५८ वर्षीया मनबहादुर राईले घर बनाउन काम सुरु गरेर पहिलो किस्ता पाए। दोस्रो किस्ता नपाउँदा उनले जस्तापाता फेर्न नसकेको सुनाए।

घर बनाउन कर्जा लिएका उनी थप समस्यामा परेका छन्। एकातिर कोरोना कहर अर्कोतिर घर बनाउने कर्जा तिर्न नसक्दा निकै पीडा भइरहेको उनले सुनाए। रोङ– ६ नम्बर वडा अध्यक्ष मणिकुमार स्याङबोले गाउँपालिकाले छनाेट गरेर छानो फेर्न लगाएको विपन्न परिवारको अपुग रकम सरकारले तुरुन्त पठाउनु पर्ने बताए। ५० हजारमा छानो फेरेर घर बनाउन लगाउँदा विपन्नलाई थप आर्थिक सङ्कट देखिएकोले सरकारले कम्तिमा प्रतिपरिवार एक लाख सम्म दिनुपर्ने उनले बताए।

सो गाउँपालिकाले छानो फेर्न १४६ विपन्न परिवार छनोट गरेको थियो। गाउँपालिकालाई पहिलो पटक २० लाख ९९ हजार र दोस्रो पटक ३४ लाख ५६ हजार बजेट पठाइएको छ। आर्थिक वर्ष सकिन लाग्दा अझै १७ लाख ४५ हजार अपुग रहेको उपाध्यक्ष राईले बताइन्।

चार जिल्लामा १५ हजार ८६१ विपन्न छनौट

साबिक मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित सुरक्षित नागरिक आवास कार्यक्रममा १५ हजार ८६१ लाभग्राहीले सम्बन्धित जिल्लाको पालिकासँग सम्झौता गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना झापाका प्रमुख राजेन्द्र खतिवडाले जानकारी दिए । आयोजना कार्यालयको तथ्याङ्क अनुसार ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकाका २४५, मिक्वाखोला गाउँपालिकाका १४७, मेरिङदेन गाउँपालिका १८८, मैवाखोला गाउँपालिका १७४, आठराई त्रिवेणी गाउँपालिका २१३, फुङलिङ नगरपालिका १९०, पाथीभरा याङवरक गाउँपालिका २००, सिरीजङ्घा गाउँपालिका २९०, सिदिङ्वा गाउँपालिका १६७ लाभग्राही रहेको छ । त्यस्तै पाँचथरको याङवरक गाउँपालिका ४९२, हिलिहाङ गाउँपालिका ६८८, फालेलुङ गाउँपालिका ४७२, फिदिम नगरपालिका ९९७, फाल्गुननन्द गाउँपालिका ४९५, कुम्मायक गाउँपालिका ६७७, तुम्बेवा गाउँपालिका ६६३, मिक्लाजुङ गाउँपालिका ४९४ लाभग्राही रहेको छ । 

इलामको माईजोगमाई गाउँपालिका ३४२, सन्दकपुर गाउँपालिका २२८, इलाम नगरपालिका ५७६, माई नगरपालिका ८२९, सूर्योदय नगरपालिका २४६, रोङ गाउँपालिका १४६, देउमाई नगरपालिका ५७२, फाकफोकथुम गाउँपालिका ४८७, माङसेबुङ गाउँपालिका ४६७, चुलाचुली गाउँपालिका ४६९ लाभग्राही रहेको छ । त्यसैगरी झापाको मेचीनगर नगरपालिका २४९, बुद्धशान्ति गाउँपालिका ३६२, भद्रपुर नगरपालिका ३९०, अर्जुनधारा नगरपालिका १९३, कनकाई नगरपालिका ३९७, बिर्तामोड नगरपालिका ३४०,  हल्दिबारी गाउँपालिका १८८, कचनकवल गाउँपालिका २१३, शिवसताक्षी नगरपालिका २६५, गौरादह नगरपालिका ५३३, गौरीगञ्ज गाउँपालिका ४९२, झापा गाउँपालिका २४४, कमल गाउँपालिका ३२४ र दमक नगरपालिका ३१६ लाभग्राही रहेको छ । जिल्लाको बाह्रदशी गाउँपालिका २०१ लाभग्राही विवरण रुजु गर्न र सम्झौता गर्न बाँकी आयोजना प्रमुख खतिवडाले बताए । 

झन्डै आधा बजेट आएनन्

सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम २०७५ अन्तरगत विपन्न तथा असहाय परिवारको घरको छानो फेर्न भन्दै अघिल्लो आर्थिक वर्ष २०७६र७७ मा चार जिल्ला गरी २२७५ मात्र लाभग्राहीले घर निर्माण गरेका थिए । चालु आर्थिक २०७७र०७८ मा झन्डै १३ गुणा बढी विपन्न परिवारको छानो फेर्न सरकारले प्रति परिवार ५० हजारको दरले रकम छुट्टाएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना प्रमुख खतिवडाले बताए । 

विपन्न परिवारले छानो फेर्दा पहिलो चरण ६० प्रतिशत ९३० हजार० र दोस्रो चरण ४० प्रतिशत ९२० हजार० रकम दिने व्यवस्था छ । सरकारले सुरक्षित नागरिक आवास कार्यक्रमको पुरै बजेट नपठाउँदा विपन्न परिवारलाई समस्या भइरहेको उनले बताए । 
‘सरकारले यस कार्यक्रमका लागि चार जिल्लामा आधा मात्र बजेट पठाएको छ,’ उनले भने, ‘अब बाँकी अपुग आउने आर्थिक वर्षमा मात्र आउने विभागले जानकारी गराएको छ । आर्थिक मन्त्रालयले बजेट निकासी नगरिँदा पालिकाहरूलाई समस्या उत्पन्न भएको बताउँदै उनले भने, ‘अधिकांश पालिकाका प्रमुखहरूले पैसा कहिले आउँछ भनी सम्पर्क गर्नुहुन्छ ।’ सरकारले असार मसान्त अघि बजेट पठाउने बुझेकाले कतिपय पालिकाले अन्य शीर्षकको बजेटको रकम विपन्न परिवारलाई दिएको पनि बुझ्नमा आएको उनले बताए । बजेट नआउँदा ती पालिकाहरूलाई अन्य शीर्षकको बजेट कसरी मिलाउने भन्दै समस्या उत्पन्न भइरहेको उनको भनाई छ । चार जिल्लाका झन्डै ७९ करोड ३० लाख ५० हजार बजेट चाहिन्छ । सरकारले अहिलेसम्म करिब ४० करोड बजेट मात्र पठाएको जनाइएको छ । 
कतिपय पालिकाहरूमा ६० प्रतिशत बजेट नहुँदा पहिलो किस्ता बापतको ३० हजार रकम पनि दिन सकिरहेको छ ।  भद्रपुर नगरपालिकामा ३९० जना विपन्न परिवार छनौटमा परेको छ । नगरपालिकालाई झन्डै १ करोड ९५ लाख रकम चाहिन्छ । अहिलेसम्म एक करोड २२ लाख ७९ हजार रुपैयाँ आएको नगरपालिकाका लेखा शाखा प्रमुख सुवास भट्टराईले जानकारी दिए । ‘नगरपालिकाले पहिलो किस्ताको रकम मात्र यसबर्ष वितरण गर्छ,’ उनले भने, ‘बाँकी दोस्रो किस्ताको रकम आगामी आर्थिक वर्ष मात्र आउने जानकारी प्राप्त भएको छ ।’ नगरपालिकामा झन्डै ७२ लाख बजेट अपुग देखिएको छ ।   
 
 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment